रुकुमपश्चिममा जिप दुर्घटना : मृतक दुई जनाको पहिचान खुल्यो, १३ जना घाइते

 

रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १२ बजे भएको दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–५ निवासी १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापा रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा सोही वडाका १९ वर्षीया जुनाकुमारी थापा, २५ वर्षीय जिपधनी वीरबहादुर थापा, २७ वर्षीया सीता थापा, २३ वर्षीया जुनी थापा र आठ वर्षीय हिरा थापा रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेमा आठबिसकोट नगरपालिका–५ का २५ वर्षीया हिरा थापा, दुई वर्षीय गौरव थापा, चार वर्षीया वीरता थापा, २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी र २७ वर्षीया खिममाया थापा रहेका छन्। त्यस्तै, आठबिसकोट नगरपालिका–२ की २० वर्षीया रमिता थापा र सोही वडाकी १९ वर्षीया निर्मला ऐरी पनि घाइते भएका छन्।

आठबिसकोट नगरपालिका–५ को थापागाउँबाट सोही वडाको नयाँडाँडा जाने क्रममा भे १ च ३११२ नम्बरको डबल क्याब जिप दुर्घटनामा परेको हो। जिप पछाडि सार्ने क्रममा सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल पुर्‍याइएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विक दुर्घटनापछि फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्