काठमाडौं । युवराज सिंह सम्राको आक्रामक शतक र कुशल भुर्तेलको अर्धशतकको मद्दतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सलाई २१८ रनको विशाल लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २१७ रन बनाएको हो। यससँगै पोखरा यस सिजन एनपीएलमा २०० रनको आँकडा पार गर्ने पहिलो टोली बनेको छ।
पोखराका लागि युवराज सिंह सम्राले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रन बनाए। उनले ४५ बलमै शतक पूरा गरेका थिए। यस सिजन एनपीएलमा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी बनेका छन्। क्यानडाका ओपनरसमेत रहेका सम्राले प्रतियोगितामा आफ्नो दोस्रो खेलमै शतक बनाएका हुन्।
त्यस्तै, कुशल भुर्तेलले ३९ बलमा सात छक्का प्रहार गर्दै ६२ रनको योगदान दिए। सम्रा र भुर्तेलबीच दोस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी भयो। यो साझेदारी यस सिजनको तेस्रो शतकीय साझेदारी हुनुका साथै एनपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारीसमेत बनेको छ।
यसअघि एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए।
सम्राले पहिलो विकेटका लागि महेदी हसनसँग २७ रनको साझेदारी गरेका थिए। १६ बल खेलेका हसन व्यक्तिगत पाँच रनमा आउट भएपछि सम्राले भुर्तेलसँग मिलेर पोखराको इनिङ्सलाई मजबुत बनाए।
सम्रा र भुर्तेल आउट भएपछि कप्तान चमिका करुणारत्नेले आक्रामक ब्याटिङ गर्दै टोलीलाई २०० रन पार गराए। उनले ११ बलमा तीन चौका र तीन छक्कासहित अविजित २५ रन बनाए। यसै खेलबाट एनपीएलमा डेब्यु गरेका सन्नी विक तीन रनमा अविजित रहे।
कर्णालीका कप्तान सोमपाल कामीले चार ओभरमा २४ रन खर्चेर दुई विकेट लिए भने मार्क वाटले एक विकेट हात पारे।
एनपीएल इतिहासमा पोखराको यो स्कोर दोस्रो ठूलो योगफल हो। यसअघि सन् २०२५ मा भएको दोस्रो संस्करणमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्ध २२० रन बनाएको थियो।
एनपीएलमा पोखराका लागि यसअघि आन्द्रे गौस र एडम रोसिङ्टनले शतक प्रहार गरेका थिए। सम्राको शतकसँगै पोखराबाट एनपीएलमा शतक बनाउने खेलाडीको सङ्ख्या तीन पुगेको छ।




