काठमाडौं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गर्नुभएको छ।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर डा. केसीसँग सहमति गर्नुभएको हो। सहमतिपछि गएराति मन्त्री पोखरेलले डा. केसीलाई जुस खुवाएर अनशन तोडाउनुभएको थियो।
अनशन अन्त्य भएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गर्नुभएको छ।
सरकार र डा. केसीबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षामन्त्री पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गर्नुभएको छ।
सहमति अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित आर्मी मेडिकल कलेजमा एमबीबीएस सिट सङ्ख्या थप गर्ने निर्णय मापदण्डअनुसार भए–नभएको विषयमा छानबिन गरिनेछ। यस विषयमा आवश्यक अध्ययन गरी निर्णय प्रक्रियाको वैधानिकता र मापदण्डको पालना भए–नभएको यकिन गरिने सहमतिमा उल्लेख छ।
त्यसैगरी, दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ मा विश्वविद्यालयका पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गर्ने सहमति भएको छ। यसका लागि दुई हप्ताभित्र मन्त्रिपरिषद्बाट अध्यादेश जारी गर्ने प्रक्रिया अघि बढाइने र अध्यादेश जारी भएपछि नयाँ पदाधिकारी नियुक्तिको प्रक्रिया तत्काल सुरु गरिनेछ।
सरकारले डा. केसीको २४औँ सत्याग्रहका क्रममा गत साउन ११ गते भएको सहमतिका कार्यान्वयन हुन बाँकी बुँदाहरू पनि अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएको छ।
यससँगै लामो समयदेखि चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डा. केसीको २५औँ सत्याग्रह अन्त्य भएको छ।
सरकारले सहमतिमा उल्लेखित विषयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ भने त्यसको प्रभावकारी कार्यान्वयनले चिकित्सा शिक्षा क्षेत्रको सुधार र विश्वविद्यालयको नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




