काठमाडौं – वडा दशैँ २०८३ को अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा,९ काँडाघारीमा रहेको भीमेश्वर एकेडेमीले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच शुभकामना आदानप्रदान, चियापान तथा टीका लगाएर दसैँ मनाएको छ। बुधबार भक्तपुरको दिव्यश्वरीस्थित सिलौटो रेस्टुरेन्टमा आयोजित कार्यक्रममा विद्यालय परिवारबीच दसैँको खुसी साटासाट गर्दै आपसी सद्भाव, आत्मीयता र भाइचाराको भावना अभिवृद्धि गरिएको हो।
विद्यालयका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्काको उपस्थितिमा आयोजित कार्यक्रममा शिक्षक तथा कर्मचारीले एकअर्कालाई दसैँको शुभकामना व्यक्त गर्दै टीका लगाएका थिए। चियापानसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने र खुसी साटासाट गर्ने अवसर प्राप्त गरेका थिए।
दसैँजस्ता
सांस्कृतिक तथा धार्मिक पर्वले परिवार, आफन्त र समुदायबीचको सम्बन्ध बलियो बनाउनुका साथै आपसी सद्भाव, एकता र आत्मीयताको भावना विकास गर्न सहयोग पुर्याउँछन्। यही महत्त्वलाई आत्मसात् गर्दै विद्यालय परिवारबीच शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।
विद्यालय औपचारिक शिक्षा प्रदान गर्ने संस्था मात्र नभई सहकार्य, सद्भाव र सामूहिक भावनाको विकास गर्ने साझा थलोसमेत हो। यस्ता कार्यक्रमले शिक्षक तथा कर्मचारीबीच आत्मीयता बढाउनुका साथै विद्यालयमा सकारात्मक र सौहार्दपूर्ण वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।




