काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पहिलोपटक प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गरी विद्यार्थी दीक्षित गर्ने भएको छ। त्रिवि कार्यकारी परिषद्ले सातवटै प्रदेशमा दीक्षान्त समारोह आयोजना गर्ने निर्णय गरेसँगै परीक्षा नियन्त्रण कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो।
परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ। विद्यार्थीले आवेदन दिँदा आफूलाई पायक पर्ने प्रदेशको दीक्षान्त केन्द्र छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले प्रदेशस्तरमा दीक्षान्त कार्यक्रम गर्ने निर्णय कार्यकारी परिषद्बाट भएकाले सोहीअनुसार विद्यार्थीबाट आवेदन माग गरिएको जानकारी दिनुभयो। विद्यार्थीले जुन प्रदेशको केन्द्र रोज्छन्, त्यहीँ आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुन पाउनेछन्।
त्रिविले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दीक्षान्त केन्द्र तोकेको छ। तर एमफिल, विद्यावारिधि (पीएचडी) तथा सर्वोत्कृष्ट अर्थात् गोल्ड मेडल प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ। अन्य तहका विद्यार्थीले आफूलाई पायक पर्ने प्रदेशको दीक्षान्त समारोहमा सहभागी हुने गरी केन्द्र छनोट गर्न सक्नेछन्।
यसअघि देशभरबाट त्रिविबाट अध्ययन पूरा गरेका विद्यार्थीले काठमाडौंमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागी हुनुपर्ने अवस्था थियो। त्रिविबाट प्रत्येक वर्ष स्नातकदेखि विद्यावारिधिसम्म करिब ८० हजार विद्यार्थीले अध्ययन पूरा गर्ने गरेका छन्। तीमध्ये करिब २० हजार विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुँदै आएका छन्। प्रदेशगत रूपमा समारोह आयोजना गर्ने निर्णयसँगै काठमाडौं बाहिरका विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी हुन सहज हुने अपेक्षा गरिएको छ।
त्रिविले पुस मसान्तभित्र दीक्षान्त कार्यक्रम सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ। यद्यपि त्रिवि सभाले पूर्णता नपाएका कारण यस वर्ष दीक्षित हुने विद्यार्थीको ग्रेस लिस्ट भने पारित हुन सकेको छैन। गत वैशाखमा उपकुलपतिसहित सभाका सदस्यलाई सरकारले अध्यादेशमार्फत पदमुक्त गरेको थियो। हाल उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्त भइसके पनि सभाका सदस्य मनोनयन हुन बाँकी रहेका कारण दीक्षित हुने विद्यार्थीको विवरण सभाबाट पारित हुन सकेको छैन।
ग्रेस लिस्ट पारित नभए पनि परीक्षा नियन्त्रण कार्यालयले ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको हो। यसअघि ग्रेस लिस्टमा समावेश विद्यार्थीबाट आवेदन माग गर्ने अभ्यास थियो। यसपटक आगामी कात्तिक १२ गतेसम्म आवेदन दिन सकिने परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले जानकारी दिनुभयो।
प्रदेशगत रूपमा दीक्षान्त समारोह आयोजना गर्दा खर्च र व्यवस्थापनको चुनौतीसमेत हुने देखिएको छ। दीक्षान्त समारोहमा प्रधानमन्त्री तथा कुलपतिसहित ५२ जना सभा सदस्यको उपस्थिति रहने गरेको छ। प्रत्येक प्रदेशमा कुलपतिसहित सबै सभा सदस्य पुगेर कार्यक्रम आयोजना गर्न कठिन हुने प्राध्यापकहरूले बताएका छन्। उनीहरूले मूल दीक्षान्त समारोह काठमाडौंमै आयोजना गरी अन्य प्रदेशमा छुट्टाछुट्टै दीक्षान्त कार्यक्रममार्फत प्रमाणपत्र वितरण गर्न सकिने सुझाव दिएका छन्।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८२ साल असार १ गतेदेखि २०८३ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअन्तर्गत स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन योग्य हुनेछन्। सोही अवधिभित्र विद्यावारिधि तह पूरा गरेका विद्यार्थी पनि आवेदनका लागि योग्य हुनेछन्।
इच्छुक विद्यार्थीले त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। दीक्षान्त समारोहमा सहभागी हुन तहअनुसार शुल्क निर्धारण गरिएको छ। स्नातक तहका लागि दीक्षान्त तथा प्रमाणपत्र शुल्क ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र विद्यावारिधिका लागि ४ हजार रुपैयाँ शुल्क तोकिएको छ।
त्यसैगरी प्रत्येक तहका विद्यार्थीले गाउन तथा स्कार्फ लिन २ हजार ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्नेछ। गाउन र स्कार्फ फिर्ता गर्दा ५ सय रुपैयाँ मर्मतसम्भार शुल्क कट्टा गरी बाँकी धरौटी रकम सम्बन्धित विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।
दीक्षान्त समारोहमा विद्यार्थीले बढीमा दुई जनासम्म अभिभावक सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ शुल्क तोकिएको छ। त्रिविको लोगो अंकित प्रमाणपत्र राख्ने फोल्डर लिन चाहने विद्यार्थीले थप ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
आवेदन शुल्क नेपाल बैंक लिमिटेड वा ग्लोबल आईएमई बैंकको अनलाइन बैंकिङमार्फत मात्र बुझाउन सकिने व्यवस्था गरिएको छ। आवेदनका क्रममा सेतो पृष्ठभूमिको एमआरपी साइजको फोटो, नागरिकताको प्रमाणपत्रको स्क्यान कपी र ट्रान्सक्रिप्टको स्क्यान कपी अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।




