वर्षाका कारण कांग्रेसको १५औँ महाधिवेशन दुई दिन सर्‍यो, असोज १८ गते उद्घाटन

काठमाडौँ – नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको उद्घाटन मिति दुई दिन पछि सारेको छ । यसअघि असोज १६ गतेदेखि सुरु गर्ने तयारी गरिएको महाधिवेशन अब असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन हुने कांग्रेसले जनाएको छ । महाधिवेशन असोज १८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । देशका विभिन्न क्षेत्रमा भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको मिति समायोजन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसको आधिकारिक कार्यतालिका यसअघि असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेको तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया जारी रहेको उल्लेख छ । भारी वर्षाका कारण कतिपय क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएकाले स्थानीय मौसमको अवस्था हेरी निर्वाचन कार्यक्रम अघि बढाउने कांग्रेसले जनाएको छ ।

यसैबीच कांग्रेसको महाधिवेशनलाई लिएर पार्टीभित्र दुई छुट्टाछुट्टै तयारी अघि बढेको छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । सो पक्षले विभिन्न जिल्लामा महाधिवेशन तयारीका लागि संयोजकसमेत तोकिरहेको छ । यसरी कांग्रेसको संस्थापन पक्षले असोजमै केन्द्रीय महाधिवेशन अघि बढाइरहँदा देउवा पक्षले मंसिरमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ । दुवै पक्षका आ–आफ्ना अधिवेशनसम्बन्धी गतिविधि अघि बढिरहेका कारण आगामी दिनमा पार्टीको महाधिवेशन प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा चासो बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्