नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं – बडादसैँअन्तर्गत नवरात्रको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन दसैँ घर तथा पूजा कोठामा कुष्माण्डा देवीको आह्वान गरी पूजाआजा गर्ने शास्त्रीय परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक गरी तीन प्रकारका तापबाट भक्तजनलाई मुक्ति दिलाउने भएकाले देवीको नाम कुष्माण्डा रहेको हो। दुर्गा सप्तशतीको देवी कवचमा त्रिविध तापयुक्त संसार देवीको उदरमा रहेको उल्लेख गरिएको छ। विभिन्न पुराणमा कुष्माण्डा देवीले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने वर्णनसमेत गरिएको छ।

नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दसैँ घर तथा पूजा कोठामा जौको जमरा राखिएको थियो। त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो। दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा गरिएको थियो। आज चौथो दिन कुष्माण्डा देवीको आराधना गरिँदै छ। नवरात्रका नौ दिनसम्म घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। देवीको आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्। नौ दिनसम्म पूजा गरी चढाइएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने चलन छ। यसरी नेपालीहरूले १५ दिनसम्म बडादसैँ पर्व मनाउँछन्।

शास्त्रीय परम्पराअनुसार नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ। यी नौ देवीका स्वरूपलाई नवदुर्गा भनिन्छ। नवरात्रका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजा गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी र इन्द्रायणी मन्दिरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

त्यसैगरी उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी र उग्रतारालगायत शक्तिपीठमा पनि नवरात्रका अवसरमा भक्तजनले पूजा आराधना तथा दर्शन गर्ने गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्