काठमाडौं । नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले आज सोमबार शपथ ग्रहण गर्ने भएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम आयोजना हुने प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ।
असोज २२ गतेदेखि तीन दिनसम्म चलेको पार्टीको प्रथम स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा सदस्यहरू मनोनयन गर्ने निर्णय गरेको थियो। बैठकले विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्यहरू मनोनीत गरेको हो।
शपथ ग्रहण गर्ने सदस्यहरूमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथप्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्बुहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) रहेका छन्।
मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहणसँगै पार्टीको केन्द्रीय कमिटीमा उनीहरूको औपचारिक जिम्मेवारी सुरु हुनेछ।




