कञ्चनपुर – संविधान दिवसको अवसरमा शुक्लाफाँटा नगरपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत लोगराज भट्टले झलारीमा नेपालको संविधान निरन्तर वाचन गरेका छन्। असोज ३ गते साँझ ६ः३० बजे सुरु गरिएको कार्यक्रममा भट्टले संविधानका धाराहरू निरन्तर वाचन गरेका हुन्। संविधान दिवसलाई फरक र रचनात्मक ढंगले मनाउने उद्देश्यले गरिएको उक्त कार्यक्रमले संविधानप्रति नागरिकको चासो र जिज्ञासा बढाउन सकारात्मक प्रभाव पारेको देखिएको छ।
संविधान वाचनसँगै नागरिकका मौलिक हक, कर्तव्य, लोकतान्त्रिक मूल्य-मान्यता तथा संविधानले सुनिश्चित गरेका अधिकारबारे जानकारी लिन स्थानीयमा चासो बढेको थियो। कार्यक्रममार्फत संविधान केवल औपचारिक दस्तावेज नभई नागरिकका अधिकार र कर्तव्यसँग प्रत्यक्ष जोडिएको विषय हो भन्ने सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन्।
भट्टको यो पहलले संविधान दिवसलाई औपचारिक कार्यक्रम र शुभकामनामा मात्र सीमित नराखी संविधान पढ्ने, बुझ्ने र यसको मर्मबारे छलफल गर्ने अवसरका रूपमा स्थापित गर्न सहयोग पुगेको स्थानीयको भनाइ छ। निरन्तर संविधान वाचनमार्फत नागरिकमा संविधानप्रतिको जागरूकता बढाउने प्रयास सकारात्मक र अनुकरणीय रहेको बताइएको छ। संविधान दिवसका अवसरमा गरिएको यस प्रकारको रचनात्मक गतिविधिले संविधान तथा लोकतान्त्रिक मूल्य-मान्यताप्रति नागरिकको अपनत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



