भ्वाइस अफ चिल्ड्रेन र डेनभर विश्वविद्यालयबीच दीर्घकालीन सहकार्य विस्तारबारे छलफल

काठमाडौं । बाल अधिकार तथा संरक्षणका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ‘भ्वाइस अफ चिल्ड्रेन’ र अमेरिकाको डेनभर विश्वविद्यालयबीच दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।

भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक उत्तमप्रसाद ढकालले डेनभर विश्वविद्यालयको भ्रमणका क्रममा बाल संरक्षण तथा सुरक्षा, नेपालमा हालै आएको बाढीपहिरोको अवस्था र प्रभावित बालबालिका तथा परिवारको अवस्थाबारे जानकारी गराएका छन्।

डेनभर विश्वविद्यालयको ग्राजुएट स्कुल अफ प्रोफेसनल साइकोलोजीअन्तर्गत आयोजित ‘कन्भर्सेसन्स विथ भ्वाइस अफ चिल्ड्रेन’ कार्यक्रममा ढकालले नेपालमा बाल संरक्षण तथा सुरक्षाका क्षेत्रमा भइरहेका कामबारे प्रस्तुति दिएका थिए। उनले बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहारको रोकथाम, उद्धार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनका विषयमा संस्थाले गर्दै आएको कामबारे जानकारी गराएका थिए।

भ्रमणका क्रममा विश्वविद्यालयका विभागीय नेतृत्व तथा टोलीका सदस्यले ढकाललाई स्वागत गर्दै भ्वाइस अफ चिल्ड्रेन र डेनभर विश्वविद्यालयबीचको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गरेका थिए। नेपालमा रहेका डेनभर विश्वविद्यालयका साझेदार संस्था, श्री मेमोरियल अस्पताल र कडमबरी मेमोरियल कलेजसँगको सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको बताइएको छ।

सन् २००० मा स्थापना भएको भ्वाइस अफ चिल्ड्रेनले नेपालका ५० भन्दा बढी जिल्लामा सडक बालबालिका, परिवारबाट विच्छेद भएका तथा यौन दुर्व्यवहारमा परेका बालबालिकाको उद्धार, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनका क्षेत्रमा काम गर्दै आएको छ। संस्थाले बाल हिंसा तथा दुर्व्यवहार रोकथाम, उद्धार, पुनर्स्थापना र पुनःएकीकरणका लागि चरणबद्ध ‘ल्याडर एप्रोच’ अपनाउँदै आएको जनाएको छ।

संस्थाले सन् १९९५ देखि बाल यौन दुर्व्यवहारविरुद्धको अभियान, साइबर सुरक्षा परियोजना तथा सडक बालबालिकाका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। बाल संरक्षणका क्षेत्रमा गरेको योगदानका कारण संस्थाले सन् २००९ मा फ्रान्सेली गणतन्त्रको ‘ह्युमन राइट्स अवार्ड’ तथा सन् २०१४ मा स्टार फाउन्डेसन यूकेको ‘स्टार्स इम्प्याक्ट अवार्ड’ प्राप्त गरेको बताइएको छ।

डेनभर विश्वविद्यालयका डीन टोरे विल्सनले नेपालका तीन जिल्लामा बाढीबाट प्रभावित परिवार तथा भ्वाइस अफ चिल्ड्रेनलाई सहयोग जुटाउन विश्वविद्यालयको वेबसाइटमार्फत अपिल गर्ने र आर्थिक सहयोग संकलनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। विश्वविद्यालयले विपद्पछि जोखिममा परेका बालबालिका तथा परिवारसँग काम गर्ने विषयमा भ्वाइस अफ चिल्ड्रेनका सदस्यलाई लक्षित गरी विशेष भर्चुअल तालिम उपलब्ध गराउने सहमतिसमेत जनाएको छ।

भ्रमणका क्रममा बाढीपहिरोबाट प्रभावित परिवारलाई आवश्यक मनोसामाजिक सहयोग तथा विपद्पछिको पुनर्स्थापनामा भ्वाइस अफ चिल्ड्रेनको सम्भावित भूमिकाबारे समेत छलफल भएको थियो। यस विषयमा कडमबरी मेमोरियल कलेजकी प्रिन्सिपल प्रदीप्तासँग सहकार्यका सम्भावनाबारे कुराकानी भएको बताइएको छ।

ढकालले भ्रमणका क्रममा डेनभर विश्वविद्यालयका विभागीय प्रमुखहरूसँग भेटघाट गर्नुका साथै सन् २०१४, २०२२, २०२३ र २०२४ का विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका थिए। विद्यार्थीहरूले विगतमा नेपालमा भ्वाइस अफ चिल्ड्रेनसँग काम गर्दाको अनुभव तथा संस्थाबाट प्राप्त सहयोग र हेरचाहबारे आफ्ना अनुभव साझा गरेका थिए। पूर्वविद्यार्थीहरूले नेपालमा हालै आएको बाढीबाट प्रभावित बालबालिका तथा परिवारप्रति चिन्तासमेत व्यक्त गरेका थिए।

भ्रमणका क्रममा स्थानीय नेपाली भोजनसहित भ्वाइस अफ चिल्ड्रेनको फिचर फिल्म ‘छाया’को प्रदर्शनसमेत गरिएको थियो। बाल यौन दुर्व्यवहारको विषयमा निर्माण गरिएको उक्त फिल्मको लेखन तथा निर्देशन मनोज पण्डितले गरेका हुन् भने निर्माणमा ज्योति लम्सालको सहयोग रहेको बताइएको छ।

करिब एक घण्टा ४० मिनेट लामो ‘छाया’ले बाल यौन दुर्व्यवहारलाई केन्द्रमा राख्दै बालबालिका, शिक्षक र अभिभावकबीचको सम्बन्ध तथा संवादमार्फत समाजमा हुने दुर्व्यवहारका विभिन्न स्वरूप प्रस्तुत गरेको छ। फिल्मले बाल यौन दुर्व्यवहारसम्बन्धी समाजमा रहेका विभिन्न भ्रम चिर्दै अभिभावक, शिक्षक तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताइएको छ।

फिल्मले नेपाल फिल्म डेभलपमेन्ट बोर्डको ‘स्पेसल फिल्म’ वर्गअन्तर्गत जुरी विशेष पुरस्कार तथा २०७९ सालको उत्कृष्ट फिल्मको सम्मान प्राप्त गरेको थियो। यस्तै, चौथो नेपाल अन्तर्राष्ट्रिय मानव अधिकार फिल्म महोत्सवमा उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट निर्देशकको पुरस्कारसमेत प्राप्त गरेको बताइएको छ।

भ्वाइस अफ चिल्ड्रेन र डेनभर विश्वविद्यालयबीच भएको पछिल्लो छलफलले बाल संरक्षण, मनोसामाजिक सहयोग, विपद्पछिको पुनर्स्थापना तथा शैक्षिक संस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने सम्भावनालाई अघि बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्