काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसका चालकले आफूभित्रै बसेर बसमा आगो लगाउँदा जलेर घाइते भएका छन्। बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले बसभित्रै बसेर आगो लगाएको प्रहरीले जनाएको छ। घटनाका बेला बसमा कुनै यात्रु भने थिएनन्।
चालक लामाले बसभित्रै आगो लगाएपछि बसमा ह्वारह्वार्ती आगो लागेको थियो। आगलागीपछि घटनास्थलमा दमकल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। आफैँले लगाएको आगोबाट जलेर घाइते भएका लामालाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
चालकले आफ्नै बसमा आगो लगाउनुको कारण भने खुलिसकेको छैन। प्रारम्भिक रूपमा ट्राफिक प्रहरीसँगको विवादपछि आक्रोशित भएर उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान गरिएको छ। काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेले घटना भर्खरै भएकाले घटनाको कारण र अन्य विषयमा विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।



