कोरियाको ग्रामीण विकास अभ्यासमा अपिहिमाल अध्यक्ष बोहराको चासो

काठमाडौँ – अपिहिमाल गाउँपालिका, दार्चुलाका अध्यक्ष भगत सिंह ठेकरे बोहरा दक्षिण कोरियाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको सेमाउल उन्डोङ अभियानसम्बन्धी विशेष प्रशिक्षणमा सहभागी हुनुभएको छ। दक्षिण कोरियाको आधुनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको सेमाउल उन्डोङ सेन्टरको आयोजनामा भएको प्रशिक्षणमा अध्यक्ष बोहराले कोरियाको ग्रामीण विकास, जनसहभागिता, स्वयंसेवा तथा समुदायमा आधारित विकास अभ्यासबारे जानकारी लिनुभएको हो।

कार्यक्रममा संस्थाका सचिव तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख सेन थेय उन, प्राध्यापक डा. यी क्युङ वन र प्राध्यापक डा. जेएच लीले सेमाउल उन्डोङ अभियानको अवधारणा, कार्यान्वयन प्रक्रिया र यसले दक्षिण कोरियाको विकासमा पुर्‍याएको योगदानबारे प्रशिक्षण दिनुभएको थियो। सन् १९७० मा तत्कालीन राष्ट्रपति पार्क चुङ–हीको पहलमा सुरु भएको सेमाउल उन्डोङ अभियानले परिश्रम, आत्मनिर्भरता र सहकार्यलाई आधार बनाएर ग्रामीण समुदायलाई विकासमा सक्रिय सहभागी बनाएको थियो। यस अभियानले गरिबीबाट आधुनिक समृद्धितर्फ दक्षिण कोरियाको रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको विषयमा अध्यक्ष बोहराले जानकारी लिनुभएको छ।

प्रशिक्षणका क्रममा सरकारको सही नीति र जनताको स्वयंसेवी भावना तथा विकासप्रतिको अपनत्वले मात्र दिगो विकास सम्भव हुने विषयमा समेत छलफल भएको थियो। नेपालमा विगतमा ‘गाउँ फर्क अभियान’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता कार्यक्रम सञ्चालन भए पनि अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको सन्दर्भमा सेमाउल उन्डोङको अनुभवलाई स्थानीय तहमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समेत महत्वपूर्ण छलफल भएको अध्यक्ष बोहराले बताउनुभयो। अध्यक्ष बोहराका अनुसार दक्षिण कोरियाको यो अनुभव अपिहिमाल गाउँपालिकालगायत नेपालको स्थानीय विकासमा जनसहभागिता, स्वयंसेवा र सहकार्यलाई जोड दिने कार्यक्रम निर्माणका लागि उपयोगी हुन सक्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्