सन्दीप लामिछानेको ऐतिहासिक बलिङ, ह्याट्रिकसहित एकै खेलमा ६ विकेट

 

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । उनले पोखरा एभेन्जर्सविरुद्ध यस्तो प्रदर्शन गरेका हुन् ।

सन्दीप यस सिजन एनपीएलमा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघि प्रतियोगिताका पाँच खेलमा एक विकेट मात्रै लिएका उनले आफ्नो छैटौँ खेलमा भने ६ विकेट हात पारेका हुन् ।

उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे ।

यससँगै सन्दीप एनपीएलको इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगर किंग्सकै प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।

सन्दीपले तीन ओभर बलिङ गर्दै २३ रन खर्चेर ६ विकेट लिएपछि पोखरा एभेन्जर्सको मध्यक्रम ध्वस्त भएको छ ।

यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एनपीएलको एकै खेलमा ६ विकेट लिने उपलब्धि हासिल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्