काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । घाइते हुनेमा तीन पुरुष र दुई बालक छन् ।
प्रारम्भिक जानकारीअनुसार बिहीबार बिहान करिब ६ बजेर १० मिनेटमा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनाका बेला गाडीमा १५ जना सवार रहेको अनुमान गरिएको छ ।
दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बलको सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली परिचालन गरिएको थियो । नेपाली सेना र नेपाल प्रहरीसहितको संयुक्त टोलीले घटनास्थलमा उद्धार कार्य जारी राखेको छ ।
घाइतेमध्ये तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।




