काठमाडौँ – व्यास गाउँपालिका-४ स्थित सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक बलदेवसिंह धामीको मृत्यु प्रकरणमा थुनामा रहेका आठ अभियुक्तलाई धरौटीमा छाड्न उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासले आदेश दिएको छ। जिल्ला अदालत दार्चुलाले पुर्पक्षका लागि कारागार चलान गरेका आठ जनालाई उच्च अदालतको महेन्द्रनगर इजलासले जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो।
न्यायाधीश मातृकाप्रसाद भण्डारी र गिरिराज गौतमको संयुक्त इजलासले आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। यस्तै, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्करराज भट्ट र पदमराज भट्टलाई जनही १ लाख ५० हजार रुपैयाँ तथा नरेन्द्रदत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको छ।
उच्च अदालतको आदेश औपचारिक रूपमा जिल्ला कारागार दार्चुलामा पुगिनसकेको जनाइएको छ। शुक्रबार फैसला भएकाले आदेशको पत्र आइपुग्न केही समय लाग्न सक्ने कारागारले जनाएको छ। जिल्ला कारागारका जेलर उमेश सिंह बिष्टका अनुसार अदालतको औपचारिक पत्र प्राप्त भएपछि आदेशअनुसार थुनामा रहेकाहरूलाई छाड्ने प्रक्रिया अघि बढाइनेछ। सम्पाल माध्यमिक विद्यालयका प्रधानाध्यापक धामी गत वैशाखमा विद्यालयमै झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो। मृत्यु हुनुअघि धामीले सामाजिक सञ्जाल फेसबुकमा हाल मुद्दा खेपिरहेका आठै जनाको नाम उल्लेख गर्दै आफूलाई आत्महत्या गर्न बाध्य पारिएको दाबीसहितको स्टाटस लेख्नुभएको थियो।
सोही आधारमा प्रहरीले आठै जनालाई पक्राउ गरी आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। उच्च अदालतको पछिल्लो आदेशसँगै उनीहरू जिल्ला अदालतबाट भएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्धको पुनरावेदन प्रक्रियामा धरौटीमा रिहा हुने भएका हुन्।



