काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यको आधुनिक विकासमा अतुलनीय योगदान पुर्याउनुभएका देवकोटाको स्मरणमा साहित्यिक गोष्ठी, चर्चा तथा सिर्जनासम्बन्धी कार्यक्रम आयोजना गरिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक महाकवि देवकोटाको स्मृति दिवस औपचारिक रूपमा मनाउन लागेको प्राज्ञ परिषद् सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो मैतीदेवीस्थित महाकवि देवकोटा सङ्ग्रहालयमा ‘महाकवि देवकोटा मिथ र यथार्थ’ विषयक गोष्ठी आयोजना गरिँदैछ । कार्यक्रममा देवकोटाका छोरा पद्म देवकोटाले स्मृतिपत्र तथा महादेव अवस्थीले समीक्षापत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक २७ गते कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । उहाँको निधन विसं २०१६ भदौ २९ गते भएको हो । साहित्य, शिक्षा, भाषा र सार्वजनिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय देवकोटाले छोटो जीवनकालमै नेपाली साहित्यमा अतुलनीय योगदान पुर्याउनुभयो । दश वर्षको उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाले महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना तथा फुटकर कवितालगायत विधामा कलम चलाउनुभयो । उहाँका सयभन्दा बढी कृति प्रकाशित छन् । आफ्ना सिर्जनामार्फत नेपाली भाषा र साहित्यलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउन उहाँको महत्वपूर्ण योगदान रहेको छ ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्ने प्रमुख साहित्यकारका रूपमा देवकोटालाई लिइन्छ । उहाँको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सर्वाधिक लोकप्रिय तथा बढी बिक्री भएको पुस्तकका रूपमा स्थापित छ । ‘मुनामदन’मार्फत देवकोटाले नेपाली समाज, जनजीवन, प्रेम, दुःख र मानवीय संवेदनालाई सरल भाषामा प्रस्तुत गर्नुभएको छ ।
स्वच्छन्दतावादी–प्रगतिवादी साहित्यिक धाराका प्रवर्तक देवकोटाका सिर्जनामा मानवतावाद, प्रकृतिप्रेम, विद्रोह र सामाजिक चेतना स्पष्ट रूपमा देखिन्छ । उहाँका रचनामा पूर्वीय दर्शन र पाश्चात्य साहित्यिक चिन्तनको समेत सुन्दर संयोजन पाइन्छ । यही बहुआयामिक सिर्जनात्मक क्षमताका कारण देवकोटालाई नेपाली साहित्यका असाधारण प्रतिभाका रूपमा स्मरण गरिन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतीय साहित्यका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त त्रिपाठी ‘निराला’को संयुक्त प्रतिभासँग तुलना गर्नुभएको मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले समेत देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कविताका माध्यमबाट तीनपटक जन्मिएको बताउनुभएको थियो ।
देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन विदेशी भाषाका साहित्यिक कृतिको अनुवाद तथा विभिन्न अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलनमा नेपालको प्रतिनिधित्वसमेत गर्नुभयो । उहाँले अङ्ग्रेजी साहित्यका विभिन्न गद्य लेखकका निबन्ध छनोट गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गर्नुभएको थियो । यसले नेपाली पाठकलाई विश्व साहित्यसँग जोड्ने कामसमेत गरेको थियो । विसं २०१६ मा शिक्षा तथा स्वायत्त शासनमन्त्रीका रूपमा रहँदा देवकोटाले नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराउन महत्वपूर्ण भूमिका खेल्नुभयो । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनाका लागि उहाँले पुर्याउनुभएको योगदान पनि नेपाली साहित्यिक तथा बौद्धिक इतिहासमा महत्वपूर्ण मानिन्छ ।
देवकोटाको सिर्जनात्मक क्षमता असाधारण थियो । उहाँले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, १० दिनमा ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेख्नुभएको साहित्यिक इतिहासमा उल्लेख छ । तत्काल कविता सिर्जना गर्नसक्ने अद्भुत क्षमता भएका देवकोटाको कवि–प्रतिभा, सिर्जनाको गुणात्मकता र विपुल साहित्यिक योगदान आज पनि अद्वितीय मानिन्छ ।
चरम आर्थिक अभाव, पारिवारिक वियोग र राजनीतिक सक्रियताबीच पनि उच्चस्तरीय साहित्य सिर्जना गर्नु देवकोटाको जीवनको विशेष पक्ष हो । उहाँका रचनामा व्यक्तिगत पीडा र संघर्षसँगै समाज, प्रकृति, मानवता र राष्ट्रप्रतिको गहिरो संवेदना अभिव्यक्त भएको पाइन्छ । देवकोटाले आफ्नो चर्चित ‘पागल’ कवितालाई आफैँ अङ्ग्रेजीमा समेत अनुवाद गर्नुभएको थियो । पाश्चात्य ग्रीसेली स्रोतका विभिन्न गाथालाई नेपाली साहित्यमा रूपान्तरण गर्नुभएको उहाँका ‘मायावीनी’, ‘सुन्दरी प्रोजर्पिना’ तथा ‘प्रमिथस’जस्ता कृतिले पूर्वीय र पाश्चात्य साहित्यबीचको संवादलाई समेत बलियो बनाएका छन् । नेपाली साहित्यको समृद्धि, नेपाली भाषाको विकास र विश्व साहित्यमा नेपालको पहिचान स्थापित गर्न देवकोटाले पुर्याएको योगदान आज पनि उत्तिकै सान्दर्भिक छ । उहाँको स्मृति दिवसले देवकोटाका कृतिको पुनःपाठ, अध्ययन र नयाँ पुस्तामाझ नेपाली साहित्यप्रतिको रुचि विस्तार गर्ने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।



