काठमाडौँ – ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ । बालमैत्री वातावरण निर्माण गर्दै बालबालिकाको अधिकारको संरक्षण, प्रवर्द्धन तथा सुनिश्चितताका लागि नागरिक समाज र सबै सरोकारवालालाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ ।
बाल अधिकारको संरक्षणका लागि दिवसले बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा विभेद अन्त्य गर्दै उनीहरूलाई सुरक्षित, सम्मानजनक र बालमैत्री वातावरण उपलब्ध गराउन राज्य, परिवार, समुदाय तथा सम्बन्धित सबै पक्षको भूमिकालाई स्मरण गराउने अवसर प्रदान गर्दै आएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता र विकासका अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा यस दिवसले जोड दिँदै आएको छ ।
यसैबीच, भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका बालबालिका थप जोखिममा परेका छन् । बाढीका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका तथा स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण तत्काल गर्नुपर्ने आवश्यकता देखिएको छ ।
विपद्का कारण परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिका शारीरिकसँगै मानसिक रूपमा समेत गम्भीर असरमा पर्न सक्ने भएकाले उनीहरूको विशेष संरक्षण आवश्यक रहेको राष्ट्रिय बाल अधिकार परिषद्ले जनाएको छ । यस्ता बालबालिकालाई सुरक्षित अस्थायी संरक्षण, आधारभूत आवश्यकताको व्यवस्था तथा आवश्यकताअनुसार मनोसामाजिक परामर्शलगायत सेवा उपलब्ध गराउन राज्य सक्रिय रहेको परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो ।
उहाँका अनुसार विपद्पछिको अवस्थामा बालबालिकाको खोज तथा उद्धारसँगै उनीहरूको पहिचान, पारिवारिक पुनर्मिलन र सुरक्षित संरक्षणलाई प्राथमिकतामा राखिएको छ । अभिभावकविहीन वा परिवारसँग सम्पर्कविहीन भएका बालबालिकालाई थप जोखिममा पर्न नदिन सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र तथा बाल संरक्षणसँग सम्बन्धित संस्थाबीच समन्वय आवश्यक रहेको उहाँले बताउनुभयो । राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा आज राष्ट्रिय बाल अधिकार परिषद्लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले बाल अधिकारसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यस वर्षको दिवसले सामान्य अवस्थामा बाल अधिकार संरक्षणसँगै प्राकृतिक विपद्का कारण संकटमा परेका बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनालाई समेत प्राथमिकतामा राखेको छ ।



