काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शन तथा पूजाआजाका लागि भक्तजन रातिदेखि नै मन्दिर परिसरमा पुग्न थालेका थिए । भक्तजनको सहज दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका अनुसार भक्तजनको चापलाई व्यवस्थित गर्दै सहज रूपमा दर्शन गराउन चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरिएको छ । विभिन्न स्थानबाट आउने भक्तजनलाई छुट्टाछुट्टै लाइनमार्फत मन्दिर प्रवेश गराई दर्शनपछि निर्धारित मार्गबाट बाहिर निकाल्ने व्यवस्था मिलाइएको हो । यसले भीड व्यवस्थापनसँगै भक्तजनलाई लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था कम गर्ने अपेक्षा गरिएको छ ।
पहिलो दर्शन मार्ग मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति हुँदै कैलाश बद्रीनरसिंहको भवनबाट वासुकीनाथको उत्तरतर्फको ढोकासम्म पुग्ने गरी निर्धारण गरिएको छ । उक्त मार्गबाट आएका भक्तजनलाई पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकाल्ने व्यवस्था गरिएको कोषले जनाएको छ । दोस्रो मार्ग जयवागेश्वरीबाट सुरु भई दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नानघरअघिको पहिलो ढोकासम्म पुग्नेछ । त्यहाँ राखिएको आकाशे पुलमार्फत भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुलबाट प्रहरी पहरा गणको सानो ढोकातर्फ भक्तजनलाई लैजाने व्यवस्था गरिएको छ । त्यसपछि दुईवटा लाइनमार्फत पशुपतिनाथको पश्चिमतर्फ रहेको काठको र्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निकालिनेछ ।
तेस्रो मार्ग तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोकाबाट सुरु हुनेछ । राममन्दिर हुँदै वाग्मती किनारबाट आर्यघाटको पुल पार गरी ब्रह्मनाल हुँदै पूर्वढोकामा राखिएको र्याम्पबाट भक्तजनलाई पशुपतिनाथको पूर्वी मुहारको दर्शन गराउने व्यवस्था गरिएको छ । दर्शनपछि भक्तजनलाई त्यही पूर्वढोकाबाट बाहिर फर्काउने प्रबन्ध मिलाइएको छ । चौथो मार्ग पिङ्गलास्थानमा रहेको ढोकाबाट सञ्चालन हुनेछ । उक्त मार्गबाट आएका भक्तजनलाई चार शिवालय, पञ्चदेवल तथा वृद्धाश्रमको दक्षिणतर्फको ठूलो ढोकाअघि बनाइएको अस्थायी आकाशे पुल हुँदै सानो ढोकाबाट प्रवेश गराइनेछ । त्यसपछि चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिणी मुहारको दर्शन गराई उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिको मार्ग हुँदै बाहिर निकाल्ने व्यवस्था गरिएको कोषका सञ्चालक परिषद् सदस्य तथा प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामले जानकारी दिनुभयो ।
कोषले आज मन्दिरमा प्रवेश गरेका भक्तजनले बढीमा दुई घण्टाभित्र दर्शन सकेर बाहिरिने गरी लाइन व्यवस्थापन गर्ने तयारी गरेको छ । भक्तजनको सुरक्षा तथा भीड व्यवस्थापनका लागि स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारीलाई विभिन्न स्थानमा परिचालन गरिएको छ । मन्दिर परिसरमा भक्तजनको चाप बढेसँगै लाइन व्यवस्थित राख्ने, आकस्मिक अवस्था आए तत्काल उद्धार तथा सहजीकरण गर्ने र आवागमनलाई सहज बनाउने गरी सुरक्षा व्यवस्था मिलाइएको छ । शान्ति सुरक्षालाई ध्यानमा राख्दै कोषले पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनलाई बहुमूल्य गरगहना नलगाई आउनसमेत आग्रह गरेको छ । भीडभाडमा गरगहना तथा अन्य बहुमूल्य सामान हराउन वा चोरी हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन कोषले अनुरोध गरेको हो ।
पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनका सवारी साधन पार्किङका लागि पनि विभिन्न स्थानमा व्यवस्था गरिएको छ । गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसर तथा गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको छ । सरकारी सवारी साधनका लागि कोषको कार्यालय परिसर र सुरक्षा निकायका सवारी साधनका लागि गौशालास्थित प्रहरी प्रभागमा पार्किङको व्यवस्था गरिएको कोषले जनाएको छ । भक्तजनको ठूलो चापलाई मध्यनजर गर्दै तोकिएका पार्किङस्थलको प्रयोग गरी मन्दिर आसपासको सडक तथा प्रवेश मार्गमा अनावश्यक सवारी चाप नबढाउनसमेत आग्रह गरिएको छ।




