आज हरितालिका तीज, भोटेकोशी बाढीको प्रभावले उत्सवमा कमी

काठमाडौँ – नेपाली हिन्दु महिलाको प्रमुख पर्व हरितालिका तीज आज मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिन व्रत बसी भगवान् शिवको पूजा तथा उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएसँगै औपचारिक रूपमा सुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमी मनाएसँगै सम्पन्न हुनेछ । तीजका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । विशेषगरी महिलाहरू बिहानैदेखि स्नान तथा पूजाआजाका लागि शिव मन्दिर पुगिरहेका छन् । पशुपतिनाथमा भने रातिदेखि नै दर्शनका लागि भक्तजनको उपस्थिति बढेको छ ।

यद्यपि विगतका वर्षमा जस्तो यस वर्ष तीजको उत्साह र चहलपहल देखिएको छैन । हालै भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यसको प्रभाव तीज पर्वमा समेत परेको हो । बाढीबाट प्रभावित परिवार तथा आफन्तजन शोकमा रहेका कारण धेरै स्थानमा तीजका कार्यक्रमलाई सामान्य रूपमा मात्र मनाइएको छ । सरकारले तीज पर्वका अवसरमा महिलालाई सार्वजनिक बिदा दिएको छ । तीजमा महिलाहरूले अघिल्लो दिन दर खाएपछि आज निराहार व्रत बस्ने परम्परा छ । दिनभर भगवान् शिवको पूजा, उपासना तथा मन्दिर दर्शन गरी साँझ व्रत समापन गर्ने चलनसमेत रहेको छ ।

यसैबीच, चिकित्सकहरूले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्थालाई विशेष ध्यान दिन आग्रह गरेका छन् । सबैको शारीरिक अवस्था एउटै नहुने भएकाले स्वास्थ्यले धान्न सक्ने भए मात्र निराहार व्रत बस्न चिकित्सकको सुझाव छ । निराहार बस्न नसक्नेले पर्याप्त पानी, फलफूल तथा जुस सेवन गरेर व्रत बस्न सकिने उनीहरूको भनाइ छ । लामो समयसम्म पानीसमेत नखाई निराहार व्रत बस्दा शरीरमा पानी र आवश्यक पोषक तत्त्वको कमी हुन सक्ने चिकित्सकहरूले बताएका छन् । यसबाट कमजोरी, चक्कर लाग्ने, रक्तचाप घट्ने तथा बेहोस हुनेजस्ता समस्या देखिन सक्ने जोखिम हुन्छ । विशेषगरी दीर्घरोग भएका, औषधि सेवन गरिरहेका, गर्भवती, वृद्धवृद्धा तथा कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार मात्र व्रत बस्नुपर्ने सुझाव दिइएको छ ।

धर्मशास्त्रीय मान्यताअनुसार पनि व्रत बस्ने सबैले अनिवार्य रूपमा निराहार नै बस्नुपर्ने उल्लेख छैन । स्वास्थ्य र शारीरिक क्षमताअनुसार निराहार, जलाहार वा फलाहारमध्ये उपयुक्त विधि अपनाउन सकिने धार्मिक मान्यता रहेको छ । निराहार बस्न नसक्नेले जलाहार र त्यो पनि सम्भव नभए फलाहार गरेर व्रत बस्न सकिने मान्यता छ । स्वास्थ्य अवस्था कमजोर भएका वा निराहार बस्न नसक्ने महिलाले गहुँ वा मकैको रोटी, स्याउ, सुन्तला, केरा लगायतका फलफूल तथा हल्का पौष्टिक आहार सेवन गरेर पनि व्रत बस्न सक्ने धार्मिक तथा सामाजिक अभ्यास छ । पर्वको धार्मिक आस्था र परम्परा कायम राख्दै आफ्नो स्वास्थ्यलाई जोखिममा नपार्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

तीजपछि भोलि ऋषि पञ्चमी मनाइनेछ । ऋषि पञ्चमीका दिन महिलाहरूले सप्तऋषिको पूजा तथा अरुन्धतीसहित ऋषिहरूको आराधना गर्ने परम्परा छ । यससँगै यस वर्षको चारदिने तीज पर्व औपचारिक रूपमा सम्पन्न हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्