यूनिटी स्कुलको आयोजनामा नेसनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न

भक्तपुर- सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित यूनिटी इङ्लिस स्कुलको आयोजनामा नेसनल प्याब्सन भक्तपुरको जिल्ला स्तरीय अन्तरविद्यालय सामूहिक तथा एकल लोकनृत्य प्रतियोगिता–२०८३ सम्पन्न भएको छ । नेपाली मौलिक लोककला, संस्कृति तथा परम्पराको संरक्षणमा विद्यार्थीको सहभागिता बढाउने र उनीहरूमा आफ्नो मौलिक संस्कृतिप्रति रुचि तथा अपनत्व विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

सामूहिक लोकनृत्यतर्फ इडेन गार्डेन स्कुल प्रथम, बिमल मेमोरियल विद्यापीठ द्वितीय, पाथिभरा एकेडेमी तृतीय तथा प्रसादी पाठशाला सान्त्वना भएका छन् । त्यसैगरी एकल लोकनृत्यतर्फ इडेन गार्डेन स्कुल प्रथम, प्रसादी पाठशाला द्वितीय, मदरल्याण्ड स्कुल तृतीय तथा क्वालिटी स्कुल सान्त्वना भएका छन् ।

सामूहिक र एकल गरी दुई विधामा सञ्चालन गरिएको प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीले नेपाली मौलिक लोककला, संस्कृति र परम्परा झल्काउने आकर्षक नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यार्थीको प्रस्तुतीमा विभिन्न जातजाति तथा समुदायका मौलिक संस्कृति, भेषभूषा, परम्परा र लोकजीवनको झल्को देखिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर गुमान्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेका वडा अध्यक्ष राजकुमार जोशी प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि जोशीले विद्यार्थीहरूले नृत्यमार्फत आफ्नो कला, सीप, संस्कार र संस्कृति अभिव्यक्त गरेको बताउँदै प्रतियोगिता उत्साहजनक र प्रभावकारी रहेको उल्लेख गर्नुभयो । विद्यालय तहबाटै यस्ता कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका विशेष अतिथि तथा नेसनल प्याब्सन भक्तपुरका प्रमुख सल्लाहकार जी.बी. खड्काले यूनिटी इङ्लिस स्कुलले आयोजना गरेको प्रतियोगिताले नेसनल प्याब्सन भक्तपुरअन्तर्गतका विद्यालयबीच एकता, सहकार्य र आपसी सम्बन्ध थप मजबुत बनाएको बताउनुभयो । ‘एकतामै बल हुन्छ’ भन्ने भावनालाई यस्ता कार्यक्रमले व्यवहारमै स्थापित गर्न सहयोग पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिताको व्यवस्थापकीय पक्ष सबल रहेको बताउँदै कार्यक्रम उत्कृष्ट रूपमा सम्पन्न गरेकोमा आयोजक यूनिटी स्कुल तथा प्रधानाध्यापक विपिन गुमान्जूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेसनल प्याब्सन भक्तपुरका आगामी बोर्ड कार्यक्रमहरूलाई समेत आपसी सहकार्य, एकता र सहभागिताका साथ अझ प्रभावकारी बनाउन सबै विद्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक विपिन गुमान्जुले प्रतियोगितालाई केवल जित र हारका रूपमा मात्र नहेरी कला, सिर्जनशीलता, अनुशासन र आत्मविश्वास विकास गर्ने अवसरका रूपमा लिनुपर्ने बताउनुभयो । प्रतियोगिता निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन सहयोग गर्ने निर्णायक तथा कार्यक्रमको व्यवस्थापनमा निरन्तर साथ दिने बोर्ड सदस्यहरूप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

आयोजक यूनिटी स्कुलले विद्यालयस्तरबाटै मौलिक कला र संस्कृतिसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदा नयाँ पुस्तामा नेपाली लोककला, संस्कृति र परम्पराप्रति रुचि तथा अपनत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा पहिचान र विकाससँगै विद्यालयबीचको सहकार्य तथा सांस्कृतिक आदानप्रदानलाई समेत थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्