काठमाडौँ – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ पुगेको थियो। त्यसअघि बुधबार भने सुनको भाउ ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ४ सय रुपैयाँ पुगेको थियो। सोमबार भने सुनको मूल्य २ हजार ४ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा यो साता सुनको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा २५५ रुपैयाँले घटेर ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला ४ हजार ८ सय ५५ रुपैयाँ थियो।



