व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास बिक्रीमा तत्काल रोक, घरायसी उपभोक्तालाई प्राथमिकता

 

काठमाडौं — नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्री तथा वितरणमा तत्कालका लागि रोक लगाउने निर्णय गरेको छ। निगमले घरायसी तथा अत्यावश्यक क्षेत्रमा ग्यास उपलब्ध गराउन प्राथमिकता दिने जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएको हो।

ग्यास आपूर्ति तथा वितरणलाई सहज बनाउन निगम र ग्यास बिक्रेता महासंघको टोलीबीच बसेको संयुक्त बैठकले विभिन्न निर्णय गरेको छ।

निर्णयअनुसार अब काठमाडौं उपत्यकामा बिक्री–वितरण गर्ने ग्यास उद्योगहरूले तराईमा रहेका उद्योगबाटै सिलिन्डर भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याउने व्यवस्था मिलाउने भएका छन्।

बजारमा उपलब्ध हुने ग्यास अत्यावश्यक उपभोक्तालाई मात्र वितरण गरिनेछ। व्यावसायिक प्रयोजनका लागि एलपी ग्यास प्रयोग गर्ने होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायले भने तत्कालका लागि आफ्नै वैकल्पिक स्रोतबाट ग्यासको व्यवस्थापन गर्नुपर्नेछ।

निगमले बजारमा ग्यासको कृत्रिम अभाव, कालोबजारी तथा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन आवश्यक निगरानी र सहजीकरण गर्ने जनाएको छ। उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन वैकल्पिक आपूर्ति मार्गको प्रयोगलाई प्राथमिकता दिइने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्