एनआईसी एसिया बैंकको नाफा ४.३२ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा १२ करोड ७४ लाख आर्जन

काठमाडौं । एनआईसी एसिया बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १२ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३२ प्रतिशतले बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी घटे पनि कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घटेकाले नाफामा सामान्य वृद्धि भएको हो। चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ९२ करोड ९४ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम १ अर्ब १६ करोड रुपैयाँ थियो।

बैंकको खुद ब्याज आम्दानी भने १७.५४ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २८ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ।

यसैगरी, बैंकको खराब कर्जा अनुपातमा वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९९ प्रतिशत रहेको कुल निष्क्रिय कर्जा (एनपीएल) अनुपात चालु आर्थिक वर्षको असोज मसान्तसम्म बढेर ९.८१ प्रतिशत पुगेको छ। खराब कर्जा बढ्नु बैंकका लागि चुनौतीका रूपमा देखिएको छ।

बैंकको कोषको लागत ४.६० प्रतिशतबाट घटेर ३.७८ प्रतिशतमा झरेको छ। त्यस्तै, औसत आधार दर ६.६० प्रतिशतबाट घटेर ५.५५ प्रतिशत कायम भएको छ। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६०.२२ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा र पुँजी पर्याप्तता अनुपात ११.१२ प्रतिशत रहेको छ। तर, प्राथमिक पुँजीकोष अनुपात भने ६.२७ प्रतिशत मात्रै छ। बैंकिङ नियामकीय व्यवस्थाअनुसार प्राथमिक पुँजीकोष अनुपात कम्तीमा ८.५ प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १५ अर्ब ३९ करोड रुपैयाँ ऋणात्मक रहेको छ। खुद ब्याज आम्दानीमा गिरावट र खराब कर्जा अनुपातमा वृद्धि देखिए पनि प्रोभिजनिङ घटेका कारण बैंकले पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा नाफा बढाउन सफल भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्