काठमाडौं – नबिल बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको ब्याज आम्दानीमा वृद्धि र कर्जा नोक्सानी व्यवस्थापनबापत छुट्याउनुपर्ने रकम घटेका कारण नाफामा सुधार आएको हो। बैंकको खुद ब्याज आम्दानी २१.४ प्रतिशतले बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी १५.१ प्रतिशत र खुद ट्रेडिङ आम्दानी ५५.३ प्रतिशतले वृद्धि भएको छ।
कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याइएको रकममा पनि उल्लेख्य कमी आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६४ करोड ७२ लाख रुपैयाँ नोक्सानी व्यवस्थाका लागि छुट्याएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १६ करोड ४० लाख रुपैयाँ मात्रै छुट्याएको छ। यसले पनि बैंकको नाफा बढाउन सहयोग गरेको देखिन्छ।
बैंकको खराब कर्जा अनुपातसमेत घटेको छ। अघिल्लो वर्ष ४.३१ प्रतिशत रहेको कुल खराब कर्जा अनुपात चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर ४.०६ प्रतिशतमा झरेको छ। बैंकको निक्षेप संकलन असार मसान्तको तुलनामा ४.६ प्रतिशतले बढेर ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कर्जा लगानी ३.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २५ रुपैयाँ ४९ पैसाबाट बढेर ३३ रुपैयाँ ८९ पैसा पुगेको छ। प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९० पैसा र पुँजीकोष अनुपात ११.६७ प्रतिशत रहेको छ। यसैगरी, बैंकको कोषको लागत गत वर्षको ४.१३ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा झरेको छ। आधार दर पनि ५.५८ प्रतिशतबाट घटेर ४.४१ प्रतिशत कायम भएको छ। ब्याजदर अन्तर (स्प्रेड) ३.१७ प्रतिशत र कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८०.०१ प्रतिशत रहेको छ। बैंकको वितरणयोग्य नाफा २ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।




