अस्लेषा कार्की बनिन् तेह्रौँ अर्किड आइडल

काठमाडौं – अर्किड आइडल नृत्य प्रतियोगिता-२०८३ को तेह्रौँ संस्करणअन्तर्गत आयोजित ग्रान्ड फिनालेमा कक्षा ९ की अस्लेषा कार्की विजेता बनेकी छन्। क्वालिफाइङ राउन्ड र सेमिफाइनल राउन्ड पार गर्दै फाइनलमा पुगेका प्रतियोगीहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेपछि कार्कीले उपाधि हात पारेकी हुन्। विद्यालय परिवारका अनुसार प्रतियोगितामा कक्षा ७ की प्रिया जिरेल फर्स्ट रनरअप, कक्षा ७ कै शिवानी खड्का सेकेन्ड रनरअप तथा कक्षा ३ की सुप्रिया शिवाकोटी थर्ड रनरअप घोषित भएका छन्। त्यस्तै, कक्षा ७ की देविना कोइरालाले उत्कृष्ट भेषभूषाको उपाधि प्राप्त गरेकी छन्।

तेह्रौँ संस्करणको ग्रान्ड फिनालेसम्म आइपुग्दा विभिन्न चरणमा सहभागी विद्यार्थीहरूले आफ्नो नृत्य प्रतिभा, सिर्जनशीलता, आत्मविश्वास तथा कलाप्रतिको समर्पण प्रस्तुत गरेका थिए। प्रतियोगिताले विद्यार्थीभित्र लुकेर रहेका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गरेको विद्यालयले जनाएको छ। विजेता तथा विभिन्न विधामा उत्कृष्ट भएका प्रतियोगीहरूलाई विद्यालय परिवारले बधाई तथा शुभकामना व्यक्त गरेको छ। विद्यार्थीहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्न प्रेरणा मिल्ने विद्यालयको विश्वास छ।

प्रतियोगिताको अन्तिम चरणमा चर्चित नृत्यशास्त्री के.पी. पौडेलले निर्णायकको भूमिका निर्वाह गरेका थिए। उनले प्रतियोगीहरूको नृत्य कौशल, प्रस्तुति, लय, भावभङ्गिमा तथा समग्र प्रतिभाका आधारमा मूल्याङ्कन गरेका थिए। विद्यालयले निष्पक्ष मूल्याङ्कनका लागि पौडेलप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेको छ। अर्किड आइडल विद्यालयमा विद्यार्थीको अतिरिक्त क्रियाकलाप तथा प्रतिभा विकासलाई प्राथमिकता दिने कार्यक्रमका रूपमा अघि बढाइएको विद्यालय परिवारले जनाएको छ। नृत्यसँगै विद्यार्थीको आत्मविश्वास, अनुशासन, सिर्जनशीलता र मञ्चीय प्रस्तुति क्षमता विकासमा समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विद्यालयका निर्देशक प्रेम कुमार भुजेलले बताउनुभयो ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अभिभावक, शिक्षक, विद्यार्थी तथा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति प्रधानाध्यापक तथा विद्यालय परिवारले आभार व्यक्त गरेको छ। विद्यालयले ‘प्रतिभाको सम्मान, मेहनतको कदर र सपनालाई सफलताको यात्रातर्फ अघि बढाउने’ उद्देश्यसहित विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

अर्किड आइडल नृत्य प्रतियोगिताले विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्फुटन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको प्रधानाध्यापक सी.बी. कार्कीले बताउनुभयो। उहाँले अध्ययनसँगै विद्यार्थीको कला, संस्कृति, सिर्जनशीलता र आत्मविश्वास विकासलाई विद्यालयले विशेष प्राथमिकता दिएको बताउँदै प्रतियोगितामा सहभागी सबै विद्यार्थी बधाईका पात्र भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “प्रतियोगिता जित्नु मात्र सफलता होइन, आफ्नो प्रतिभालाई मञ्चमा प्रस्तुत गर्ने साहस र निरन्तर सिक्ने प्रयास पनि ठूलो उपलब्धि हो। अर्किड आइडलले विद्यार्थीलाई आफ्नो प्रतिभा पहिचान गर्न र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको छ। आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौँ।”

विद्यालय संयोजक नरेन्द्र पाण्डेयले अर्किड आइडलको तेह्रौँ संस्करणसम्म आइपुग्दा विद्यार्थीको उत्साह र सहभागिता अझ बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार क्वालिफाइङ राउन्डदेखि सेमिफाइनल हुँदै ग्रान्ड फिनालेसम्म विद्यार्थीहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए। उहाँले भन्नुभयो, “यस प्रतियोगिताको उद्देश्य विद्यार्थीबीच प्रतिस्पर्धा गराउनु मात्र होइन, उनीहरूको प्रतिभा पहिचान गर्दै आत्मविश्वास, अनुशासन, सिर्जनशीलता र मञ्चीय प्रस्तुति क्षमता विकास गर्नु हो। यसपटक पनि सबै प्रतियोगीले निकै मेहनत गरेर उत्कृष्ट प्रस्तुति दिएका छन्। विजेता तथा उपविजेतासहित सहभागी सबै विद्यार्थीको आगामी यात्रा अझ सफल र प्रेरणादायी बन्ने विश्वास लिएका छौँ।”

फाइनल चरणमा सहभागी प्रतिष्पर्धी विद्यार्थीहरुको नामावली

क्र.सं. विद्यार्थीको नाम कक्षा
रोनिका खड्का
साहिरा बास्तोला
सोनिया खड्का
देविना कोइराला
रोजिना खड्का
सोफिया के.सी.
प्रान्शी अधिकारी
सुनिता बजगाईं
निमसाङ तामाङ
१० शिवानी खड्का
११ श्रिया कालिकोटे
१२ पवित्रा रसाइली
१३ जेनिशा उप्रेती
१४ समृद्धि राई
१५ रिद्धिमा कार्की
१६ अस्लेशा कार्की
१७ सुप्रिया शिवाकोटी
१८ पुण्यशिला भुजेल
१९ कृष्ण भट्टराई
२० जोसेफ घिसिङ
२१ अविनव के.सी.
२२ रुबिना भुजेल
२३ करिना कार्की
२४ प्रिया जिरेल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्