काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि सुरु हुने खेल दुवै टोलीका लागि महत्वपूर्ण हुनेछ। वर्षाको सम्भावना रहेको खेलमा विराटनगर पहिलो जितको खोजीमा रहँदा सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ।
विराटनगरले यसअघि खेलेका दुवै खेलमा जितको नजिक पुगेर पनि हार बेहोरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ८ रनले पराजित भएको विराटनगर दोस्रो खेलमा कर्णाली याक्ससँग अन्तिम बल बाँकी छँदा हारेको थियो। चितवनविरुद्ध लक्ष्य पछ्याउँदा ब्याटिङमा सम्हालिन नसकेको विराटनगरले कर्णालीविरुद्ध भने १८७ रन बनाएको थियो। तर, खराब फिल्डिङका कारण उसले खेल गुमाउनुपर्यो। क्याच छुट्नु र ओभर थ्रो हुनुजस्ता कमजोरीले विराटनगरले जितको अवसर गुमाएको थियो।
दुवै खेलमा देखिएका कमजोरी सुधार्दै विराटनगर पहिलो जित निकाल्ने योजनामा हुनेछ। ब्याटिङमा लोकेश बमले राम्रो लय देखाएका छन्। तर, टोलीले अन्य ब्याटरबाट पनि साथ पाउनुपर्ने देखिन्छ। कर्णालीविरुद्ध फिल्डिङमा भएका गल्ती यसपटक नदोहोर्याउने चुनौती विराटनगरसामु हुनेछ। यता, सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरे पनि दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराउँदै पुनरागमन गरेको छ। पहिलो हारपछि जितको लय समातेको सुदूरपश्चिम त्यसलाई निरन्तरता दिन चाहन्छ। टोलीका खेलाडीबीचको संयोजन मिलाउनु उसका लागि महत्वपूर्ण हुनेछ।
पछिल्लो लय हेर्दा विराटनगरले अघिल्लो सिजनका क्वालिफायर १ र क्वालिफायर २ तथा यस सिजनका सुरुवाती दुई खेल गरी लगातार चार खेलमा हार बेहोरेको छ। सुदूरपश्चिमले भने अघिल्लो सिजनको फाइनलमा लुम्बिनी लायन्ससँग पराजय भोगेपछि यस संस्करणको पहिलो खेलमै फेरि लुम्बिनीसँग हार बेहोरेको थियो। दोस्रो खेलमा काठमान्डुलाई हराएपछि टोली जितको लयलाई निरन्तरता दिने प्रयासमा छ।
एनपीएलका अघिल्ला दुई संस्करणमा विराटनगर र सुदूरपश्चिम तीन पटक आमनेसामने भएका छन्। पहिलो सिजनको लिग चरणमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराएको थियो। दोस्रो सिजनको लिग चरणमा भने विराटनगरले ६ विकेटको जित निकाल्दै हिसाब बराबर गरेको थियो। दोस्रो सिजनकै क्वालिफायर १ मा यी दुई टोली पुनः भिडेका थिए। उक्त खेलमा सुदूरपश्चिमले ७७ रनको फराकिलो जित निकाल्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो। यसरी अघिल्ला तीन भेटमध्ये दुई खेल सुदूरपश्चिमले जितेको छ भने एक खेल विराटनगरको पक्षमा गएको छ।
सुदूरपश्चिमका विदेशी खेलाडीमध्ये फेबियन एलेन अझै टोलीमा आइपुगेका छैनन्। तर, श्रीलंकाका थरिन्दु रथ्नायके टोलीमा जोडिएका छन्। उनको बलिङ क्षमता उपयोग गर्न सुदूरपश्चिमले उनलाई प्लेइङ–११ मा समावेश गर्न सक्ने सम्भावना छ। तर, त्यसका लागि विदेशी खेलाडीमध्ये कसलाई बाहिर राख्ने भन्ने निर्णय सहज हुने छैन। रथ्नायकेले खेल्ने अवसर पाए ब्रान्डन म्याकमुलेन बाहिर बस्न सक्ने सम्भावना छ।
विराटनगरले भने विदेशी खेलाडीमा परिवर्तन गर्ने सम्भावना कम देखिन्छ। एन्जेलो म्याथ्युज, आन्द्रे रसेल, शुभम रन्जाने र चरिथ असलंका नै खेल्ने सम्भावना छ। नेपाली खेलाडीमध्ये इमरान शेखको स्थानमा साहिल पटेलले अवसर पाउन सक्छन्। विराटनगरको सम्भावित प्लेइङ–११ मा सन्दीप लामिछाने, लोकेश बम, साहिल पटेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, आन्द्रे रसेल, शुभम रन्जाने, प्रतिश जिसी, बसिर अहमद र नरेन साउद रहने सम्भावना छ। त्यस्तै, सुदूरपश्चिमको सम्भावित प्लेइङ–११ मा दीपेन्द्रसिंह ऐरी (कप्तान), इशान पान्डे, विनोद भण्डारी, आरिफ शेख, सेफ जैब, ब्रान्डन म्याकमुलेन वा थरिन्दु रथ्नायके, अनिल खरेल, हेमन्त धामी, अविनाश बोहरा, शेरफन रदरफोर्ड र स्कट कुग्लेइन रहने सम्भावना छ।
विराटनगरका लागि लोकेश बम मुख्य खेलाडी हुनेछन्। उनले यसअघिका दुई खेलमा आक्रामक ब्याटिङ गर्दै टोलीको रन बनाउने जिम्मेवारी सम्हालेका छन्। विशेषगरी पावरप्लेमा आक्रामक सट खेल्ने क्षमता भएका लोकेशबाट विराटनगरले राम्रो सुरुवातको अपेक्षा गर्नेछ। बलिङमा कप्तान सन्दीप लामिछानेको प्रदर्शन महत्वपूर्ण हुनेछ। उनले आफ्नो बलिङबाट खेलको दिशा बदल्न सक्छन्।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीमाथि नजर रहनेछ। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा योगदान दिन सक्ने दीपेन्द्र टोलीका महत्वपूर्ण खेलाडी हुन्। त्यस्तै, बलिङमा अनिल खरेलको प्रदर्शन पनि हेर्नलायक हुनेछ। उनले सुरुवाती दुई खेलमै राम्रो बलिङ गर्दै विकेट लिएका छन्। विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीचको खेल १४ कात्तिकमा साँझ ५ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ। मौसममा बादल लाग्ने र वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान गरिएको छ।




