पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको सचिवालयको अनभिज्ञता, रिहा गर्न निर्देशन

काठमाडौँ – समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाबारे प्रधानमन्त्री बालेन शाहको सचिवालयले आफूहरूलाई पूर्वजानकारी नभएको जनाएको छ । शुक्रबार प्रहरीले तीन जना पत्रकारलाई पक्राउ गरेपछि प्रधानमन्त्री कार्यालयले घटनाबारे जानकारी नभएको प्रतिक्रिया दिएको हो । प्रहरीले अन्य तीन जना पत्रकारको समेत खोजी गरिरहेका बेला प्रधानमन्त्री कार्यालयकी प्रेस विज्ञ एवं सल्लाहकार दीपा दाहालले सचिवालय र कार्यालय यस घटनामा संलग्न नरहेको बताएकी छन् ।

उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् । एक मन्त्रीले पनि सरकारलाई यस विषयमा जानकारी नभएको र प्रहरीकै तर्फबाट कारबाही भएको हुन सक्ने बताएका छन् । शुक्रबार पक्राउ पर्नेमा नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल छन् । उनीहरूलाई तत्काल रिहा गर्न निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

यसैबीच प्रहरीले दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा, सम्पादक रिता बुढाथोकी तथा नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीको खोजी गरिरहेको छ । प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिने र अन्य पत्रकारको खोजी गर्ने कार्य गरेको छ ।

समाचार कक्षबाटै पत्रकार पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार बानेश्वरस्थित नेपाल प्रेस डटकमको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको हो । कार्यालयमा काम गरिरहेका बेला सादा पोसाकमा पुगेका प्रहरीले उनलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा बुझाएका थिए । प्रहरीले साइबर ब्युरोको पत्रका आधारमा सुवेदीलाई पक्राउ गरिएको जनाएको छ । तर उनीमाथि लगाइएको आरोप र पक्राउको कानुनी आधारबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

त्यस्तै, डीएनए खबरका प्रधानसम्पादक धिरज बस्नेतलाई सुरुमा ‘इसेवा नम्बरको विषयमा बुझ्नुपर्ने’ भन्दै फोन गरिएको थियो । सामान्य सोधपुछका लागि बोलाइएको ठानेर प्रहरी कार्यालय पुगेका बस्नेतलाई त्यहीँ नियन्त्रणमा राखिएको हो । उनीसँगै मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराल पनि प्रहरी नियन्त्रणमा रहेको बस्नेतले बताएका छन् । प्रहरीले उनीहरूलाई कुन कसुरमा नियन्त्रणमा लिएको हो भन्ने स्पष्ट पारेको छैन ।

यसैबीच, अनामनगरस्थित दियोपोस्ट डटकमको कार्यालयमा पनि प्रहरी टोली पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका इन्स्पेक्टर कमलजंग शाहीको नेतृत्वमा चार जनाको टोली कार्यालय पुगेको दियोपोस्टका समाचार संयोजक मदन ढुंगानाले बताएका छन् । उनका अनुसार प्रहरीले कार्यालयमा कार्यरत पत्रकारहरूको मोबाइलसमेत नियन्त्रणमा लिएर जाँच गरेको जानकारी आफूले पाएका छन् । यसअघि प्रधानसम्पादक विश्वकर्मा र सम्पादक बुढाथोकीलाई फोन गरेर ठेगाना सोधिएको थियो ।

त्यस्तै, प्रहरी टोली नयाँ पत्रिकाको समाचार कक्षमा पुगेर पत्रकार नवराज मैनालीको समेत खोजी गरेको छ ।एकै  दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकार पक्राउ गर्ने र खोजी गर्ने क्रम चले पनि यी घटनाबीच आपसी सम्बन्ध छ वा छैन भन्ने खुलेको छैन । प्रहरीले सम्बन्धित पत्रकारमाथि कुन विषयमा अनुसन्धान गर्न खोजेको हो र पक्राउ वा खोजी गर्नुको आधार के हो भन्नेबारे पनि विस्तृत जानकारी दिएको छैन ।

पत्रकार पक्राउप्रति राजनीतिक तथा पत्रकार संगठनको आपत्ति

पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेर खोजी गर्ने प्रहरी गतिविधिप्रति विभिन्न राजनीतिक दलका नेता तथा पत्रकार संगठनले आपत्ति जनाएका छन् । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सञ्चारमाध्यमको कार्यालयभित्रै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने घटनाप्रति विरोध जनाएका छन् । उनले प्रेसको मुख बन्द गरेर तर्साउने प्रयास निन्दनीय भएको टिप्पणी गरेका छन् ।

अन्य पत्रकारको समेत खोजी भइरहेको जानकारी आएको उल्लेख गर्दै महरले लोकतन्त्रको बर्खिलापमा हुने नियोजित गतिविधि स्वीकार्य नहुने बताएका छन् । यसैगरी, जेनजी पत्रकार फोरम नेपालले पनि पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यमका कार्यालयमा पुगेर खोजी गर्ने कार्य तत्काल बन्द गर्न माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै फोरमले समाचारको विषयलाई लिएर पत्रकारमाथि भइरहेको धरपकड प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको छ ।

समाचारमा चित्त नबुझे खण्डन गर्ने, कानुनी उपचार खोज्ने तथा स्थापित कानुनी प्रक्रिया अवलम्बन गर्ने बाटो हुँदाहुँदै प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्नु स्वीकार्य नहुने फोरमको भनाइ छ । फोरमले नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले सञ्चारको हक सुनिश्चित गरेको स्मरण गराएको छ । त्यस्तै, धारा २० अनुसार पक्राउ परेका व्यक्तिलाई पक्राउको कारण जानकारी गराउनुपर्ने र कानुन व्यवसायीसँग परामर्श लिन पाउने अधिकार रहेको उल्लेख गरेको छ ।

समाचारको विषयमा छानबिन गर्ने नाममा पत्रकारलाई त्रसित बनाउने, कार्यालयमै पुगेर पक्राउ गर्ने र समाचार लेखेकै आधारमा अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक व्यवस्थामा स्वीकार्य नहुने फोरमले जनाएको छ । पत्रकारलाई निर्भीकतापूर्वक काम गर्ने वातावरण सुनिश्चित गर्न सरकार र प्रहरीसँग माग गर्दै फोरमले प्रेस स्वतन्त्रता पत्रकारको मात्र नभई लोकतन्त्र, नागरिकको सूचनाको हक र राज्यको जवाफदेहितासँग जोडिएको विषय भएको उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्