आन्द्रे रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

काठमाडौं । आन्द्रे रसेलको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।

वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो।

तीन खेल खेलेपछि विराटनगरले पहिलो जित हात पारेको हो। जितसँगै विराटनगरले २ अंक जोड्दै प्रतियोगितामा अंकको खाता खोलेको छ।

विराटनगरको जितमा आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गरे। उनले ब्याटिङमा १० बलमा अविजित २९ रन बनाए भने बलिङमा एक विकेट लिए। त्यस्तै, फिल्डिङमा एक क्याचसमेत लिए।

सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए। त्यस्तै, सैफ जैबले १० बलमा २ छक्कासहित १७ रन तथा आरिफ शेखले अविजित १७ रन जोडे।

बलिङतर्फ विराटनगरका रसेलले २ ओभरमा ८ रन खर्चेर एक विकेट लिए। एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन खर्चेर एक विकेट हात पारे।

सुदूरपश्चिमले पहिलो बलमै शेरफेन रदरफोर्डलाई गुमाएको थियो। रसेलले उनलाई आउट गरेका थिए। दोस्रो ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि सुदूरपश्चिम ७ रनमै दुई विकेट गुमाउँदै दबाबमा परेको थियो। त्यसपछि सैफ जैबले एकतर्फबाट आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको थियो।

विराटनगरका लागि शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा २ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, आन्द्रे रसेलले १० बलमा २ चौका र ३ छक्काको मद्दतमा अविजित २९ रन बनाए।

अर्का ओपनर लोकेश बमले १० बलमा एक चौका र ३ छक्कासहित २५ रन जोडे। सुदूरपश्चिमका अभिनाश बोहराले २ ओभरमा २८ रन खर्चेर एक विकेट लिए।

५ ओभरको खेलमा विराटनगरका लागि लोकेश बम र शेहान जयसूर्या ओपनिङमा आएका थिए। सुदूरपश्चिमका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायकेले पहिलो ओभर बलिङ गरेका थिए। उक्त ओभरमा जयसूर्याले पाँच छक्का प्रहार गर्दै विराटनगरलाई ३५ रन दिलाएका थिए।

जयसूर्या र लोकेश बमले आक्रामक ब्याटिङ गरेपछि विराटनगरले केवल ८ बलमै अर्धशतक पूरा गरेको थियो। तेस्रो ओभरमा अभिनाश बोहराको बलमा जयसूर्या एलबीडब्लू आउट भए। सुरुमा अम्पायरले आउट नदिए पनि रिभ्युबाट उनी आउट घोषित भएका थिए।

त्यसपछि क्रिजमा आएका रसेलले लोकेश बमसँग मिलेर आक्रामक ब्याटिङलाई निरन्तरता दिँदै टोलीलाई १०५ रनको योगफलसम्म पुर्‍याए।

वर्षाका कारण खेल सुरु हुन ढिलाइ

विराटनगर र सुदूरपश्चिमबीचको खेल शनिबार साँझ ५ बजे सुरु हुने तालिका थियो। तर वर्षाका कारण त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पानी जमेकाले खेल सुरु हुन ढिलाइ भएको थियो।

सुरुमा साँझ ७ः२५ बजे टस र ७ः४१ बजे खेल सुरु गर्ने समय निर्धारण गरिएको थियो। तर टसका लागि विराटनगरका कप्तान सन्दीप लामिछाने मैदानमा पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित नभएपछि थप अन्योल सिर्जना भएको थियो।

क्यानका सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कासहित म्याच रेफ्री र सम्बन्धित पक्षबीच लामो छलफल भएको थियो। त्यसपछि पनि खेल सुरु हुने विषयमा अन्योल कायम रह्यो।

करिब एक घण्टाभन्दा बढीको छलफलपछि राति ८ः५४ बजे सुदूरपश्चिमका खेलाडी खेल्न तयार भएका थिए। त्यसपछि राति ९ बजे टस गर्ने र ९ः१५ बजे खेल सुरु गर्ने सहमति भएको थियो।

टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। विराटनगरले पहिले ब्याटिङ गर्दै १०५ रन बनाएको थियो।

सुदूरपश्चिमका खेलाडी टसका लागि सुरुमा उपस्थित नहुनुको आधिकारिक कारण सार्वजनिक भएको थिएन। यद्यपि मैदानको आउटफिल्ड भिजेको अवस्था र विदेशी खेलाडी खेल्न तयार नभएको विषयलाई लिएर मैदानमा छलफल भएको देखिएको थियो।

अन्ततः पाँच ओभरमा सीमित खेलमा विराटनगरले सानदार प्रदर्शन गर्दै प्रतियोगितामा पहिलो जित हात पार्‍यो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्