अण्डाको भाउ फेरि बढ्यो, प्रतिक्रेट १५ रुपैयाँसम्म महँगियो

काठमाडौं – बजारमा अण्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको नयाँ फार्म समर्थन बिक्री मूल्य सार्वजनिक गरेको हो। नयाँ मूल्यअनुसार सबै प्रकारका अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म वृद्धि भएको छ। चितवनलाई आधार मानेर तोकिएको नयाँ मूल्यअनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अण्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अण्डा ५७५ रुपैयाँ र मध्यम अण्डा ५३५ रुपैयाँ पुगेको छ। सानो अण्डाको मूल्य भने प्रतिपेटी ३ हजार २०० रुपैयाँ कायम गरिएको सङ्घले जनाएको छ।

सङ्घले एक साताभन्दा कम अवधिमै अण्डाको मूल्य पुनः बढाएको हो। यसअघि पनि साउन महिनामा अण्डाको मूल्य पटक–पटक वृद्धि भएको थियो। पछिल्लो समय उत्पादन घट्दै जाँदा बजारको माग धान्न कठिन भएपछि मूल्य बढाउनुपरेको व्यवसायीहरूको भनाइ छ। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा नष्ट गर्नुपरेपछि अण्डा उत्पादनमा उल्लेख्य कमी आएको छ। उत्पादन घटे पनि बजारमा माग कायमै रहेकाले मूल्यमा दबाब परेको उनले बताएका छन्।

उत्पादनमा आएको कमी र मागमा रहेको चापका कारण अण्डाको मूल्य अझै केही समय उच्च रहन सक्ने व्यवसायीहरूको आकलन छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्