कांग्रेसको महाधिवेशन रोक्न संस्थापन इतर समूह अदालत जाने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया तत्काल रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न न्यायिक बाटो रोज्ने निर्णय गरेको हो।

बैठकपछि संस्थापन इतर समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी रहेको जानकारी दिए। उनका अनुसार पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतमा पुनः सुनुवाइ हुने भएपछि त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउनु उपयुक्त नहुने समूहको निष्कर्ष छ। संस्थापन इतर समूहले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा पुनः सुनुवाइको प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा त्यसलाई बेवास्ता गर्दै महाधिवेशन अघि बढाउँदा थप जटिलता उत्पन्न हुन सक्ने दाबी गरेको छ।

यता, कांग्रेसले भने महाधिवेशनको तयारीलाई निरन्तरता दिइरहेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार वडा अधिवेशन आगामी २४ भदौमा गर्ने कार्यतालिका तय गरिएको छ। कांग्रेसले यसअघि नै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशनको मूल मिति यथावत राख्दै पार्टीले तल्लो तहका अधिवेशनको कार्यतालिकामा भने हेरफेर गरेको छ।

यससँगै कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया अघि बढाउने संस्थापन पक्ष र तत्काल रोक्नुपर्ने माग गरिरहेको संस्थापन इतर समूहबीचको विवाद थप चर्किने देखिएको छ। अदालतमा संस्थापन इतर समूहले दर्ता गर्ने निवेदन र त्यसमा आउने आदेशले कांग्रेसको आगामी महाधिवेशनको कार्यतालिकामाथि समेत प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिन्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्