काठमाडौं – भक्तपुर क्यान्सर अस्पताल र धुलिखेल अस्पतालबीच प्राविधिक, शैक्षिक तथा अनुसन्धानात्मक क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार दुवै संस्थाले क्यान्सर उपचार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि संयुक्त रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएका छन्। यसअन्तर्गत संयुक्त ट्युमर बोर्डमार्फत बहुविषयगत छलफल (मल्टिडिसिप्लिनरी डिस्कसन), इम्युनोहिस्टोकेमिस्ट्री (आईएचसी) सेवा, इन्डोस्कोपिक रेट्रोग्रेड कोलान्जियोप्यान्क्रियाटोग्राफी (इआरसिपी) सम्बन्धी सेवा तथा दक्षता अभिवृद्धि र प्यालियाटिभ केयर सेवाको विकास तथा विस्तारमा सहकार्य गरिनेछ।
अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार सम्झौताले अनुसन्धान, स्वास्थ्यकर्मीको क्षमता विकास, तालिम, शैक्षिक कार्यक्रम, ज्ञान तथा अनुभव आदानप्रदान, संयुक्त अध्ययन तथा अन्य प्राविधिक गतिविधिमा समेत सहकार्यको ढोका खोलेको छ। उनले यस सहकार्यबाट विशेषज्ञता आदानप्रदान, अनुसन्धान प्रवर्द्धन, स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धि तथा क्यान्सर बिरामीलाई थप गुणस्तरीय, समन्वित र आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।



