आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी वायु तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त मौसमी प्रणालीको प्रभावका कारण हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ। हाल कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। यस्तै, कोशी, मधेस तथा बागमती प्रदेशका तराई भूभागका केही स्थानमा हुस्सु लागेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने देशका तराई भूभागमा पनि आंशिक बदलीको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भूभागका एकदुई स्थानमा समेत मध्यमसम्म वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ। तराई भूभागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्