रास्वपा केन्द्रीय समिति बैठक आज, संगठन विस्तार र स्थानीय निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति रवि लामिछानेको अध्यक्षतामा दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। बैठकका लागि संगठन विस्तार, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा आन्तरिक मनोनयनलगायत विषयलाई प्राथमिकतामा राखिएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा आगामी स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन, विभागीय प्रमुख तथा उपप्रमुख मनोनयनलगायत विषयमा छलफल हुनेछ। त्यस्तै, पार्टीको संगठन विस्तार तथा स्थानीय निर्वाचन केन्द्रित गतिविधिलाई थप व्यवस्थित बनाउने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा सञ्चालन हुने ‘हामी आउँदै छौँ’ अभियानका सम्बन्धमा पनि छलफल हुने कार्यसूची रहेको छ। स्थानीय तहमा पार्टीको संगठन विस्तार तथा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले अभियानलाई अघि बढाउने तयारी रास्वपाले गरेको छ। स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी प्रक्रिया र तयारीबारे पनि बैठकमा आवश्यक निर्णय हुनसक्ने जनाइएको छ। रास्वपाले यसअघि नै स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा तयार गरी त्यसलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाएको थियो।

त्यस्तै, मधेस प्रदेश संगठनको अडिट रिपोर्टमाथि पनि बैठकमा छलफल हुने बताइएको छ। संगठनको अवस्था, आगामी गतिविधि तथा निर्वाचन केन्द्रित तयारीलाई प्रभावकारी बनाउने विषयमा समेत केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्