काठमाडौँ – नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। पार्टीको मौजुदा विधान संशोधन गरी आगामी महाधिवेशनपछि सभापतिले मनोनयन गर्ने गरी थप पदाधिकारीको व्यवस्था गर्न लागिएको हो। हाल कांग्रेसमा दुई उपसभापति र दुई महामन्त्री रहने व्यवस्था छ। विधान संशोधनको प्रस्तावित मस्यौदामा उपसभापति र महामन्त्रीको संख्या बढाएर तीन–तीन जना पुर्याउने उल्लेख गरिएको एक पदाधिकारीले जानकारी दिएका छन्।
ती पदाधिकारीका अनुसार थपिने एक उपसभापति र एक महामन्त्री सभापतिको सिफारिसमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने व्यवस्था प्रस्ताव गरिएको छ। हाल दुई उपसभापति र दुई महामन्त्री महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ। नयाँ प्रस्तावअनुसार पदाधिकारीको संख्या थपिएसँगै केन्द्रीय पदाधिकारी तथा सदस्यको कुल संख्या ३३ पुर्याउने गरी विधानको मस्यौदा तयार गरिएको ती पदाधिकारीले बताएका छन्। विधान संशोधनसम्बन्धी मस्यौदा महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरी पारित गर्ने तयारी रहेको छ। कांग्रेसले विधान संशोधनका लागि महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो। सोही समितिले पदाधिकारी थप गर्ने प्रस्तावसहित विधान संशोधनको मस्यौदा तयार पारेको हो।
कांग्रेसको १४औँ महाधिवेशनबाट एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको थियो। त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी एक कोषाध्यक्ष रहने व्यवस्था छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट विधान संशोधन गरी तीन सहमहामन्त्री थप गरिएको थियो। त्यससँगै सहमहामन्त्रीको संख्या आठबाट बढाएर ११ पुर्याइएको थियो। थपिएका तीन सहमहामन्त्री पनि सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने व्यवस्था गरिएको थियो। अहिले प्रस्ताव गरिएको संशोधन पारित भएमा कांग्रेसमा उपसभापति र महामन्त्रीको संख्या पनि बढ्नेछ।




