पूर्ण तौलको सिलिन्डर बिक्रीपछि एलपी ग्यासको माग ह्वात्तै बढ्यो, बजारमा अभाव

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको माग एक्कासि बढेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा ग्यास अभाव देखिएको छ। उपभोक्ताले एक सातादेखि सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका छन् भने डिलरहरूमा ग्यास लिन उपभोक्ताको लामो लाइन लागेको छ। नेपाल आयल निगमका अनुसार ग्यासको आयात नियमित रूपमा भइरहेको भए पनि पूर्ण तौल (१४.२ केजी) को सिलिन्डर बिक्री पुनः सुरु भएपछि खाली सिलिन्डर भर्न आउने उपभोक्ताको संख्या बढेकाले अस्थायी रूपमा अभाव देखिएको हो। विशेषगरी नेपाल, एचपी र गीता ग्यासका सिलिन्डरको माग उच्च रहेको जनाइएको छ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न उपभोक्तालाई आग्रह गर्दै आयातमा कुनै समस्या नरहेको बताए। एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले पनि पछिल्ला चार महिना आधा तौलको सिलिन्डर वितरण गरिएकाले अहिले पूर्ण तौलमा फर्किएसँगै माग बढेको र ७–१० दिनभित्र आपूर्ति सहज हुने विश्वास व्यक्त गरे। नेपाल ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालका अनुसार केही उद्योगले डिलरभन्दा आफ्नै रिफिलिङ प्लान्टबाट बढी बिक्री गरेकाले बजारमा असन्तुलन देखिएको हो।

ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमले शनिबारदेखि टेकु कार्यालयमार्फत नेपाल, एचपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका सिलिन्डर वितरण सुरु गरेको छ। टेकु कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटीमा ग्यास लिन उपभोक्ताको भीड लागेको छ। निगमका अनुसार सामान्य अवस्थामा मासिक ४५ हजारदेखि ५० हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गर्छ। हाल देशभर करिब डेढ करोड ग्यास सिलिन्डर प्रयोगमा रहेका छन् भने ५९ वटा ग्यास उद्योगले आयात तथा वितरण गर्दै आएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्