काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा अनलाइनमार्फत बैंक खाता खोल्ने नयाँ सेवा सुरु गरेको छ। यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा घरमै बसेर ग्लोबल आइएमई बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।
बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले बैंकको वेबसाइटमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर वा तोकिएको लिंकमार्फत सहज रूपमा खाता खोल्न सक्नेछन्। नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले बैंक खाता खोल्ने प्रक्रियालाई थप सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने विश्वास बैंकले लिएको छ।
यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका राष्ट्रिय परिचयपत्र प्राप्त गरी नागरिक एपमा आबद्ध भएका नागरिकका लागि उपलब्ध हुनेछ। खाता खोल्ने क्रममा आवश्यक व्यक्तिगत विवरण ग्राहकको पूर्वसहमतिमा नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले पुनः विवरण भर्नुपर्ने झन्झट हट्ने र गोपनीयता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकले जनाएको छ।
नागरिक एपमार्फत खोलिएको खाता सञ्चालनका लागि भने ग्राहकले नजिकको शाखामा पुगेर वा भिडियो केवाईसी (KYC) मार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, भरपर्दो र आधुनिक बैंकिङ सेवा विस्तार गर्ने रणनीतिअनुसार यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप पारदर्शी, सहज र ग्राहकमैत्री बनाउने अपेक्षा गरिएको छ।
ग्लोबल आइएमई बैंक हाल मुलुकका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३४२ शाखा, ३६८ एटीएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ। साथै अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, साउदी अरब, कतार, यूएई, भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।



