बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालिएको आरोप, चिकित्सकमाथि पनि अनुसन्धान

काठमाडौं- ललितपुरस्थित बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको अवैध रूपमा डिम्ब (अण्डा) निकालिएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि घटनाको अनुसन्धान सुरु भएको हो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा लमजुङ घर भई इमाडोलमा व्युटिसियनको काम गर्दै आएकी राधिका गोतामेलाई पक्राउ गरेको थियो। तर सरकारी वकिल कार्यालयको निर्देशनअनुसार उनलाई शुक्रबार हाजिर जमानीमा रिहा गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार आरोपी रिहा भए पनि थप प्रमाण संकलन र अनुसन्धान जारी छ।

अनुसन्धानका क्रममा वरिष्ठ स्त्रीरोग तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माको संलग्नता पनि शंकाको घेरामा आएको प्रहरीले जनाएको छ। उनलाई पक्राउ गर्न प्रहरीले अदालतसँग दुई पटक अनुमति मागे पनि अदालतले स्वीकृति नदिएको स्रोतको भनाइ छ।

प्रहरीका अनुसार किशोरीलाई ३० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। त्यसपछि स्वास्थ्यमा समस्या आएपछि परिवारले घटनाबारे थाहा पाएका थिए। किशोरीलाई अस्पतालसम्म पुर्‍याउने र उपचारको व्यवस्थासमेत कथित गिरोहले नै गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।

यसअघि २०८२ असोज ३० गते काठमाडौंको होप फर्टिलिटी सेन्टरमा पनि किशोरीहरूको डिम्ब निकालिएको घटनामा अनुसन्धान भएको थियो। उक्त प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरे पनि तत्कालीन महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेकी थिइन्। हालको घटनाले फेरि अवैध डिम्ब संकलन र मानव प्रजननसम्बन्धी सेवाको नियमनबारे गम्भीर प्रश्न उठाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्