२९औँ वार्षिकोत्सव मनाउँदै एनआईसी एशिया बैंक, देशभर सामाजिक सेवाका कार्यक्रम सञ्चालन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो २९औँ वार्षिकोत्सव सप्ताहव्यापी सामाजिक तथा संस्थागत कार्यक्रमसहित मनाइरहेको छ। बैंकले साउन ५ गतेदेखि सुरु भएको वार्षिकोत्सवका अवसरमा देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, व्यवसायिक साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आएका भक्तजनलाई खानेपानी वितरण गरेको छ। साथै, नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा कमलादीस्थित केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा कर्मचारी र ग्राहकसहित १०१ जनाले रक्तदान गरेका छन्।

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत बैंकले सातै प्रदेशका १३ वटा विद्यालय र एक आश्रमलाई कम्प्युटर, स्मार्ट बोर्ड, प्रोजेक्टर, फर्निचर, वाटर प्युरिफायर, प्रिन्टर, झोला लगायत शैक्षिक सामग्री सहयोग गरेको जनाएको छ। केही विद्यालयमा भवनको छाना ट्रस निर्माणमा समेत सहयोग प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।

त्यसैगरी, सांस्कृतिक सम्पदा, मन्दिर, विद्यालय तथा सार्वजनिक स्थलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सातै प्रदेशमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री, विश्वसनीय र ग्राहकमैत्री बैंकिङ सेवा विस्तार गर्दै आर्थिक समृद्धि र सामाजिक विकासमा योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्