काठमाडौं । नेपालको अग्रणी निजी वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो फ्लीटमा नेपालकै पहिलो ATR 72-600 विमान थपेको छ। 9N-AOS दर्ता नम्बर रहेको यो नयाँ पुस्ताको विमानले अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, इन्धनको उच्च दक्षता र यात्रुका लागि थप आरामदायी उडान अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
बुद्ध एयरका अनुसार आधुनिक एभियोनिक्स प्रणाली र RNP-AR (Required Navigation Performance–Authorization Required) क्षमताले सुसज्जित यस विमानले नेपालका चुनौतीपूर्ण भौगोलिक क्षेत्रमा पनि सुरक्षित, भरपर्दो र प्रभावकारी उडान सञ्चालन गर्न सहयोग पुर्याउनेछ। यसले उडानको नियमितता सुधार्नुका साथै सञ्चालनलाई अझ सुरक्षित र दक्ष बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले नयाँ विमानको आगमनलाई नेपालको नागरिक उड्डयन क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउने अर्को महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै यात्रुलाई सुरक्षित, विश्वसनीय र आधुनिक हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप सुदृढ भएको जनाएको छ।




