काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १५८ रनको सामान्य लक्ष्य नामिबियाले ३७.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। नामिबियाको जितमा जान फ्राइलिंकले अविजित ७७ रन तथा माइकल भान लिङ्गेनले ५१ रनको योगदान दिए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १५७ रनमै समेटिएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक ३१ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले ३० रन जोडे। नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएर नेपालको ब्याटिङ लाइनअप ध्वस्त पारे।
यस हारसँगै लिग-२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ। राम्रो नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा रहेको छ। नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्नेछ।



