भ्याली भ्यु स्कुलमा सम्पन्न अन्तरविद्यालय कविता प्रतियोगितामा उत्साहजनक प्रस्तुति

काठमाडौं – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले आयोजना गरेको १९औँ उपत्यकाव्यापी अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न भएको छ। वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपत्यकाका २६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाली भाषा, साहित्य र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट कविता वाचन गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीकी उन्नती पुडासैनी ‘उद्यानका फूल अनन्त बाँचून्’ शीर्षकको कवितासहित प्रथम भइन्। पाठशाला नेपाल फाउन्डेसन, बागडोलकी श्रीनिशा बोगटी ‘एउटी चरी हुँ म’ कवितामार्फत द्वितीय हुँदा नेक्सस इन्टरनेसनल एकेडेमीकी कक्षा ८ की छात्रा अञ्जली कार्की ‘परदेशी आमालाई चिठ्ठी’ शीर्षकको भावपूर्ण कविता वाचन गर्दै तृतीय स्थान हासिल गर्न सफल भइन्। त्यसैगरी अक्सिडेन्टल पब्लिक स्कुलकी युनिसा निरौला ‘मौसमी परिवर्तन’ कवितासहित चतुर्थ भइन्।

अञ्जल कार्कीको उत्कृष्ट प्रस्तुतिले नेक्सस इन्टरनेसनल एकेडेमीलाई गौरवान्वित बनाएको छ। विद्यालयले विद्यार्थीको सिर्जनशीलता, साहित्यप्रतिको रुचि र सार्वजनिक मञ्चमा आत्मविश्वासका साथ प्रस्तुति दिन सक्ने क्षमताको विकासमा निरन्तर जोड दिँदै आएको छ। अञ्जलको उपलब्धिले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रतिको प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।

कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष डी.पी. अर्याल, उपाध्यक्ष डा. रमेश शुभेच्छु, कवि हरिहर तिमल्सिना तथा कवि प्रभा भट्टराईले विद्यार्थीहरूले प्रस्तुत गरेका कविताको स्तर र सिर्जनशीलताको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको मोह बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

विद्यालयका प्राचार्य तथा कार्यक्रमका सभापति सुभाषचन्द्र भण्डारीले भ्याली भ्यु स्कुलले विगत १९ वर्षदेखि भानुजयन्तीको अवसरमा साताव्यापी कार्यक्रम, अन्तरविद्यालय कविता प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्नुका साथै नेपाली भाषा र साहित्यप्रतिको अपनत्व अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रमुख अतिथि रामबाबु सुवेदीलाई नगदसहित दोसल्ला ओढाएर स्रष्टा सम्मान गरिएको थियो। साथै प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र तथा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो। विशिष्ट अतिथिहरूलाई पनि मायाको चिनो प्रदान गरिएको कार्यक्रममा योगेन्द्र पौडेल, सवित्रा नेपाल र सन्तोष चपागाईंले सञ्चालन गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्