भानुजयन्ती अन्तरविद्यालय कविता प्रतियोगितामा नेक्ससकी अञ्जली कार्की तृतीय

काठमाडौं – आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा काठमाडौंको मध्यबानेश्वरस्थित भ्याली भ्यु स्कुलले आयोजना गरेको १९औँ उपत्यकाव्यापी अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा नेक्सस् इन्टरनेसनल एकेडेमीकी कक्षा ८ की छात्रा अञ्जली कार्की तृतीय स्थान हासिल गर्न सफल भएकी छन्।

नेपाली भाषा, साहित्य र सिर्जनशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उपत्यकाका २६ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। अञ्जली कार्कीले ‘परदेशी आमालाई चिठ्ठी’ शीर्षकको कविता प्रभावशाली रूपमा वाचन गर्दै तेस्रो स्थान हासिल गरेकी हुन्। उनको उत्कृष्ट प्रस्तुति, आत्मविश्वासपूर्ण अभिव्यक्ति र भावपूर्ण वाचनकलाले निर्णायक तथा दर्शकको प्रशंसा बटुलेको थियो।

यसअघि विद्यालयभित्र आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा आयोजित कक्षागत कविता वाचन प्रतियोगितामा पनि अञ्जली कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै तृतीय स्थान प्राप्त गरेकी थिइन्।

नेक्सस् इन्टरनेसनल एकेडेमीले अञ्जली कार्कीको उपलब्धिलाई विद्यालयको गौरवका रूपमा लिँदै उनलाई हार्दिक बधाई ज्ञापन गरेको छ। साथै, यस्ता साहित्यिक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न र नेपाली भाषा–साहित्यप्रतिको सम्मान अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विद्यालयले जनाएको छ।

प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय, सल्लाघारीकी उन्नती पुडासैनी ‘उद्यानका फूल अनन्त बाँचून्’ शीर्षकको कवितासहित प्रथम भइन्। त्यसैगरी पाठशाला नेपाल फाउन्डेसन, बागडोलकी श्रीनिशा बोगटी ‘एउटी चरी हुँ म’ कवितामा द्वितीय भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्