काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्रीमा एन्डी बर्नहम नियुक्त भएका छन्। ५६ वर्षीय बर्नहम लेबर पार्टीको नेतृत्व सम्हालेको केही दिनपछि प्रधानमन्त्रीको जिम्मेवारीमा नियुक्त भएका हुन्। राजा चार्ल्स तृतीयले बकिङ्घम दरबारमा बर्नहमलाई नयाँ सरकार गठन गर्न औपचारिक रूपमा आमन्त्रण गरेपछि उनले प्रधानमन्त्रीको पद सम्हालेका हुन्।
बर्नहमले प्रधानमन्त्री पदमा सर किअर स्टार्मरलाई प्रतिस्थापन गरेका छन्। स्टार्मरले यसअघि प्रधानमन्त्री तथा लेबर पार्टीको नेताबाट राजीनामा घोषणा गरेका थिए र सोमबार राजा चार्ल्सलाई भेटेर औपचारिक रूपमा राजीनामा बुझाएका थिए।
डाउनिङ स्ट्रिटबाट बिदाइ सम्बोधन गर्दै स्टार्मरले आफ्नो कार्यकालमा बेलायतको अर्थतन्त्र, सार्वजनिक सेवा, आप्रवासन व्यवस्थापन र अन्तर्राष्ट्रिय छविमा सुधार आएको दाबी गरेका छन्। साथै उनले नयाँ प्रधानमन्त्रीलाई आफ्नो पूर्ण सहयोग रहने बताएका छन्।
नयाँ प्रधानमन्त्री बर्नहमले देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने, जीवनयापनको बढ्दो लागत नियन्त्रण गर्ने, सार्वजनिक सेवामा सुधार ल्याउने, बेघरपन न्यूनीकरण गर्ने तथा स्थानीय तहमा अधिकार हस्तान्तरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
एक दशकमा सातौँ प्रधानमन्त्री बनेका बर्नहमले अब सुस्त आर्थिक वृद्धि, बढ्दो वित्तीय दबाब, सार्वजनिक सेवामा सुधार र अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीको सामना गर्दै सरकार सञ्चालन गर्नुपर्नेछ।



