काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्यसचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै कार्कीको नियुक्तिसँगै विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरिएको जानकारी दिए।
मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। साथै कैलालीस्थित गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ। बैठकले ‘विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली, २०८३’, ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८३’ र ‘कारागार नियमावली, २०८३’ लाई पनि स्वीकृत गरेको छ।
यस्तै मन्त्रिपरिषद्ले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) तथा भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) समेत स्वीकृत गर्ने निर्णय गरेको सरकारले जनाएको छ।




