काठमाडौं । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरिएको जानकारी दिए।
मन्त्रिपरिषद्ले कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ। साथै विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ र शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ पनि स्वीकृत गरिएको छ। बैठकले कारागार नियमावली, २०८३, मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४-२०८७/८८) तथा भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) समेत स्वीकृत गरेको छ।
मन्त्रिपरिषद्का आठ निर्णय
- गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव नियुक्त गर्ने।
- काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने।
- गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने।
- विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।
- शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।
- कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।
- मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना (२०८३/८४-२०८७/८८) स्वीकृत गर्ने।
- भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३-२०८७/८८) स्वीकृत गर्ने।




