काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्न लागिएकाले दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ। विभागले बुधबार जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र २६ गते (जुलाई ९ र १०, २०२६) राहदानीसम्बन्धी सबै सेवा स्थगित गरिनेछ।
यसअघि विभागले असार १९ गते नै सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण ती दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो। यद्यपि, अन्य सबै सेवा बन्द रहने भए पनि तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले स्पष्ट पारेको छ। मोबाइलमा राहदानी सङ्कलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ।
विभागले नयाँ प्रणाली कार्यान्वयनपछि राहदानी सेवालाई थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री बनाउने लक्ष्य रहेको जनाएको छ।




