एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, पीसीबीले रोक्यो एनओसी

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले खेलाडीलाई प्रतियोगिता खेल्न आवश्यक पर्ने अनापत्ति प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि उनीहरूको सहभागितामाथि प्रश्न उठेको हो।

क्रिकेटसम्बन्धी सञ्चारमाध्यम क्रिकइन्फोका अनुसार एनपिएलसँग सम्बन्धित व्यक्तिहरूले पाकिस्तानी खेलाडीको एनओसी रोकिएको पुष्टि गरेका छन्। यसअघि एनओसी पाइसकेका खेलाडीलाई समेत तत्कालका लागि खेल्न अनुमति नदिइएको बताइएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पनि आफूले त्यस्तै जानकारी पाएको भन्दै एनओसीबिना खेलाडीले एनपिएल खेल्न नपाउने बताएका छन्।

पीसीबीले प्रत्येक खेलाडीको एनओसीका लागि करिब २५ हजार अमेरिकी डलर शुल्क मागेको हुन सक्ने चर्चा भए पनि यसको आधिकारिक पुष्टि भएको छैन। एनओसी रोक्नुको वास्तविक कारण पनि स्पष्ट भइसकेको छैन। यस विषयमा पीसीबीले तत्काल प्रतिक्रिया दिएको छैन।

एनपिएलमा पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहानसहित हैदर अली, हुसेन तलात, इफ्तिखार अहमद, हसन अली, उसामा मिर र हुनेन शाह सहभागी हुने सूचीमा छन्। केही खेलाडी काठमाडौँ आइसकेका छन् भने अन्यले समस्या समाधान नभएसम्म यात्रा स्थगित गरेको बताइएको छ।

यस वर्षको एनपिएल अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म काठमाडौँमा सञ्चालन हुँदैछ। आठ टोली सहभागी हुने प्रतियोगितामा पाकिस्तानी खेलाडीको सहभागिता अब पीसीबीको निर्णयमा निर्भर देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्