काठमाडौँ – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत हुँदा नेपालमा पनि प्रभाव पर्ने मौसमविद्ले बताएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवारदेखि मौसम बदली हुने र बिहीवारदेखि शनिवारसम्म वर्षाको प्रभाव बढी रहने सम्भावना छ। बुधवार केही स्थानमा छिटपुट वर्षा र हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षाको प्रभाव बढी पर्ने अनुमान गरिएको छ भने कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम असर पर्ने देखिएको छ। मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायका अनुसार बिहीवारदेखि आइतवारसम्म केही स्थानमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने सम्भावना छ।
गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी र बागलुङलगायत क्षेत्रमा भारी वर्षा र हिमपातको जोखिम रहेको छ। जमिनमा यसअघि नै पर्याप्त चिस्यान रहेकाले बाढी, पहिरो र हिमपहिरोको जोखिम बढ्न सक्ने विज्ञहरूले बताएका छन्। धान काट्ने समय र पर्वतारोहणको मौसम भएकाले किसान तथा पर्यटकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। किसानलाई धान सुरक्षित स्थानमा थन्क्याउन र कात्तिक १२ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्ने योजना बनाएका पर्यटकलाई यात्रा स्थगित गर्न वा सुरक्षित स्थानमा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।




