काठमाडौं। करिब दुई महिनादेखि विभिन्न प्रशासनिक तथा प्राविधिक अवरोधका कारण प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सुचारु भएको छ।
नेपाल–भारत सीमास्थित काँकडभिट्टा नाका हुँदै इलाम टी र समर भ्यालीका चिया बोकेका दुई ट्रक भारततर्फ प्रस्थान गरेसँगै लामो समयदेखि रोकिएको निर्यात प्रक्रिया पुनः सञ्चालनमा आएको हो।
मेची भन्सार कार्यालयका अनुसार पछिल्ला केही दिनयता चिया बोकेका सवारीसाधनहरू सहज रूपमा भारतीय बजारतर्फ गइरहेका छन्। भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले हाल चिया निकासीमा कुनै प्रशासनिक वा प्राविधिक अवरोध नरहेको जानकारी दिएका छन्।
उनका अनुसार पछिल्लो दुई दिनमा मात्रै पाँच ट्रक नेपाली चिया भारत निर्यात भइसकेको छ। पहिलो दिन दुई ट्रक र त्यसपछिको दिन थप दुईदेखि तीन ट्रक चिया भारततर्फ पठाइएको हो।
दुई देशबीचको कूटनीतिक तथा व्यावसायिक पहलपछि निर्यात प्रक्रिया सहज बनेको जनाइएको छ। लामो समयदेखि निर्यात अवरुद्ध हुँदा आर्थिक क्षति बेहोर्दै आएका चिया उत्पादक, किसान तथा व्यवसायीहरूमा यसले नयाँ आशा र उत्साह थपेको छ।
नेपालतर्फको भन्सार प्रक्रिया नियमित रूपमा सम्पन्न भई चियाका ट्रकहरू भारततर्फ प्रस्थान गरिरहेको भए पनि भारतीय सीमा पार गरेपछिको प्रशासनिक प्रक्रियाबारे विस्तृत जानकारी भने नेपाली भन्सारसँग नरहेको मेची भन्सार कार्यालयले जनाएको छ। हालसम्म नाकाबाट चिया निकासीमा कुनै उल्लेखनीय समस्या नदेखिएको कार्यालयको भनाइ छ।




