काठमाडौं – नेपाल प्रहरीले सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियानलाई देशभर विस्तार गरेको छ। प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई कालो सिसा हटाउने अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयअन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले प्रदेशस्थित कार्यालयहरूलाई यससम्बन्धी सर्कुलर जारी गरेको जनाएको छ। त्यसअनुसार अब देशभरका सार्वजनिक तथा निजी सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने कार्यलाई तीव्रता दिइनेछ।
यसअघि काठमाडौं उपत्यकामा सञ्चालन गरिएको अभियानका क्रममा गृहमन्त्री र गृहसचिवले प्रयोग गर्ने सरकारी सवारीसाधनबाट समेत कालो सिसा हटाइएको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले प्रयोग गर्ने सरकारी गाडीबाट पनि कालो सिसा हटाइएको छ।
प्रहरीले असार १४ गतेदेखि उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जडान गरिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको थियो। पहिलो चरणमा स्टिकर हटाउने कार्य भइरहेको र कम्पनीबाटै कालो सिसा जडान भएका सवारीसाधनको सिसा परिवर्तन गर्ने विषयमा गाडी बिक्रेता कम्पनीहरूसँग समेत छलफल भइरहेको जनाएको छ।
प्रहरीका अनुसार सवारीसाधनमा कालो सिसा प्रयोग हुँदा सुरक्षा चुनौती बढ्ने, अपराध अनुसन्धानमा कठिनाइ हुने तथा ट्राफिक नियम कार्यान्वयनमा समस्या पर्ने भएकाले अभियानलाई देशव्यापी रूपमा विस्तार गरिएको हो।




